डोनाल्ड ट्रम्पले जित्दा रूसी लगानीकर्ता भए उत्साहित

एजेन्सी

मस्को २६ कार्तिक

अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको जितले पश्चिमासँगको सम्बन्धमा सुधार आउने रूसी लगानीकर्ताले विश्वास व्यक्त गरेका छन् ।  ट्रम्पले जितेको खबर सुनेलगत्तै रूसकै ठूलो धितोपत्र बजार २ प्रतिशतले उकालो लागेको छ । अन्य विश्वव्यापी बजार ओरालो लागेको अवस्थामा पनि रूसी धितोपत्र बजारमा भने वृद्धि देखिएको छ । डलरसँगको विनिमयमा यहाँको मुद्रा रुबलको पनि अधिमूल्यन भएको छ ।

ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बलिया नेता भनी प्रशंसा गर्दै आएका थिए । पुटिनले पनि आफूले हिलारी क्लिन्टनभन्दा ट्रम्प नै विजयी भएको हेर्न चाहेको बताएका थिए । ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि युक्रेनको विषयलाई लिएर रूसमाथि लगाइँदै आएको प्रतिबन्ध खुकुलो हुने अपेक्षा रूसी लगानीकर्ताले गरेका छन् ।

“रूसी बजार उकालो लाग्नुलाई प्रतिबन्ध हट्ने अपेक्षाको संकेतका रूपमा हेरिएको हुन सक्छ,” क्यापिटल इकोनोमिक्सका वरिष्ठ उदीयमान बजार अर्थशास्त्री विलियम ज्याक्सनले भने । यसको प्रभाव नाकाबन्दी हटाइने र अन्य प्रमुख अर्थतन्त्रले पनि यसको अनुसरण गर्ने विषयको अवस्थामा निर्भर रहने उनको भनाइ छ । अमेरिका, युरोपेली संघ (ईयू) र अन्य पश्चिमा मुलुकले रूसका ठूला बैंक र ऊर्जा फर्महरूमा लगानी गर्नबाट कटौती गरेका थिए । उनीहरूले रूसी रक्षा कम्पनीमाथि पनि प्रतिबन्ध लगाएका थिए र केही अधिकारीहरूलाई अमेरिका भ्रमणमाथि पनि प्रतिबन्ध लगाएका थिए ।

अमेरिकी अधिकारीले क्लिन्टनको उम्मेदवारीलाई निरुत्साहित गर्नका लागि ह्याक भएको डेमोक्रेटिक अभियानको इमेल चुहावट गरेर राष्ट्रपति निर्वाचनलाई गलत दिशातिर मोडेको आरोप मस्कोमाथि लगाएका थिए ।

ट्रम्पलाई बधाई दिनेमा पुटिन विश्वका नेतामध्ये अग्रणी भएका थिए । पुटिनले रूस–अमेरिका सम्बन्धलाई हालको संकटबाट माथि उठाउनका लागि एकसाथ मिलेर काम गर्ने पनि बताएका छन् ।

ट्रम्पले रूससँगको सम्बन्ध पुनः स्थापना गर्ने बताएका थिए । “यो अमेरिका–रूसबीचको हालको सम्बन्धमा कठिन हुनेछ,” पुटिनले राज्य स्वामित्वको टेलिभिजनमार्फत भने । रूसी सम्प्रभु सम्पत्ति कोषका प्रमुख किरिल दिमित्रिभ पनि ट्रम्पको विजयप्रति आशावादी थिए । उनले ट्रम्पको राष्ट्रपतित्वले विश्व वृद्धिका लागि थप अवसर प्रस्ताव गर्ने बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया