तनहुँमा २६ हजार भूमिहीनको लगत संकलन

दमौली ३ फाल्गुन २०८१

भूमि समस्या समाधान आयोगले तनहुँमा २६ हजार बढी भूमिहीनको लगत संकलन गरेको छ।

यसअघि गठन भएको आयोगले २६ हजार ११७ भूमिहीनको लगत संकलन गरेको र हाल गठन भएको आयोगले सोही विवरणको आधारमा कामलाई अगाडि बढाउने तयारी गरेको छ।

आयोगका सदस्य सचिव एवं नापी कार्यालयका प्रमुख विजय सिंहले जिल्लाका १० स्थानीय तहका २६ हजार ११७ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने कार्य सकिएको जानकारी दिए।

त्यस्तै ६ हजार ७७३ कित्तामा नाप नक्सा भइसकेको उनले बताए। उनका अनुसार ६२४ हेक्टर क्षेत्रफलको नाप नक्सा कार्य सकिएको छ।

त्यस्तै १३ जनालाई लालपुर्जा नै वितरण भइसकेको सदस्य सचिव सिंहले बताए।

आयोगले विगतमा गरेका कामलाई नै वर्तमान आयोगले निरन्तरता दिने सिंहको भनाइ छ।
‘विगतको आयोगले जहाँसम्म काम सम्पन्न गरेको छ, अहिले गठन भएको आयोगले त्यहीँबाट काम सुरु गर्नेछ,’ उनले भने।

व्यास नगरपालिकामा सात हजार ४३, भानु नगरपालिकामा तीन हजार तीन सय १७, शुक्लागण्डकी नगरपालिकामा चार हजार चार सय तीन, देवघाट गाउँपालिकामा दुई हजार ३४४, भीमाद नगरपालिकामा एक हजार आठ सय ६१, ऋषिङ गाउँपालिकामा एक हजार चार सय ३९, घिरिङ गाउँपालिकामा एक हजार ५२०, म्याग्दे गाउँपालिकामा एक हजार २६७, आँबुखैरेनी गाउँपालिकामा आठ सय ९३ र बन्दीपुर गाउँपालिकामा दुई हजार ३० भूमिहीनको लगत संकलन भएको छ ।
सदस्य सचिव सिंहका अनुसार व्यासमा ४०९ भूमिहीन दलित, ४८३ भूमिहीन सुकुम्बासी, छ हजार १५१ अव्यवस्थित बसोबासी, भानुमा ४०५ भूमिहीन सुकुम्बासी, दुई हजार ९१२ अव्यवस्थित बसोबासी, शुक्लागण्डकीकमा २८७ भूमिहीन दलित, २८७ भूमिहीन सुकुम्बासी, तीन हजार ८२९ अव्यवस्थित बसोबासी, देवघाटमा १२३ भूमिहीन दलित, ७८ भूमिहीन सुकुम्बासी र दुई हजार १४३ अव्यवस्थित बसोबासीको लगत संकलन भएको छ।

त्यस्तै भीमादमा १९ भूमिहीन दलित, १५ भूमिहीन सुकुम्बासी, एक हजार ८२७ अव्यवस्थित बसोबासी, ऋषिङमा २२ भूमिहीन दलित, १२७ भूमिहीन सुकुम्बासी, एक हजार २९० अव्यवस्थित बसोबासी, घिरिङमा ६३ भूमिहीन दलित, ५५ भूमिहीन सुकुम्बासी, एक हजार ४०२ अव्यवस्थित बसोबासी, म्याग्देमा ७८ भूमिहीन दलित, ६५ भूमिहीन सुकुम्बासी, एक हजार १२४ अव्यवस्थित बसोबासी, आँबुखैरेनीमा १८ भूमिहीन दलित, ९० भूमिहीन सुकुम्बासी, ७८५ अव्यवस्थित बसोबासी र बन्दीपुरमा ८९ भूमिहीन दलित, २६७ भूमिहीन सुकुम्बासी र एक हजार ६७४ अव्यवस्थित बसोबासीको लगत संकलन गरिएको छ।

आयोगका सदस्य सचिव सिंहका अनुसार शुक्लागण्डकीमा दुई हजार ८४१, देवघाटमा दुई हजार ३६२, आँबुखैरेनीमा एक हजार ५२९ कित्ताको नाप नक्सा भइसकेको छ।

त्यस्तै शुक्लागण्डकीको वडा नम्बर २, ७ र ८ को नाप नक्सा सम्पन्न गरी कार्यालय प्रयोजन भइरहेको छ भने देवघाटको वडा नम्बर ५ को नाप नक्सा सम्पन्न गरी कार्यालय प्रयोजनको काम भइरहेको छ । यस्तै आँबुखैरेनीको पनि सबै वडाको नाप नक्सा सम्पन्न भएको छ ।

आयोगका नवनियुक्त अध्यक्ष गोविन्द सिलवालले जुनसुकै पार्टीबाट आयोगमा प्रतिनिधित्व भए पनि आफूहरुको मुख्य काम भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने रहेको बताए।

‘आयोगले राजनीतिक पूर्वाग्रह नराखी काम गर्नेछ, भूमिहीनको समस्या समाधानका लागि एकढिक्का भएर काम गर्नेछौं,’ उनले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया