तपाईं ‘स्पाम कल’बाट हैरान त हुनुहुन्न?

काठमाडौं २७ चैत्र

तपाईंको मोबाइलमा नचिनेको नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ ? यसो हो भने होसियार हुनुहोस्।  नचिनेको नम्बरबाट आएको ‘मिस्ड कल’मा ‘कल ब्याक’ गर्दा तपाईंको मोबाइलको गोप्य सूचना चोरिनुका साथै ब्यालेन्स पनि रित्तिन सक्छ। नेपालमा केही दिनयता नेपाल टेलिकम र एनसेलका मोबाइल बोक्ने कतिपय ग्राहकले विदेशको नम्बरबाट आएका मिस्ड कलबाट हैरानी बेहोर्नु परेको छ।  यसरी आउने मिस्ड कलमा कल ब्याक गर्दा प्रयोगकर्ताको ब्यालेन्स सकिने समस्याले मोबाइल प्रयोगकर्ता हैरान छन्।  धेरैजसो मोबाइल प्रयोगकर्तालाई २१६… नम्बरको मोबाइलबाट कल र मिस्ड कल आउने गरेको पाइएको छ।  साथै उक्त नम्बर कहाँको हो भनेर इन्टरनेटमा सर्च गर्दा ट्युनिसियामा रजिस्टर भएको देखाउने गरेको छ ।   ‘यो फ्रड कल हो, यस्तो नम्बरमा कल ब्याक गर्दा मोबाइलमा भएको ब्यालेन्स काटिन सक्छ’, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले भने, ‘यो ‘स्पाम कल’ हो।’ यस्तो नम्बरमा कलब्याक गर्दा उच्च कल दर भएको स्थानमा कल जाने र ब्यालेन्स रित्तिने निर्देशक खनालले जानकारी दिए। यस्तो कल सहजै ट्र्याक गर्न नसक्ने भएकाले स्पाम कल पठाएर पैसा लाने अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई लक्षित गरेको खनालले बताए।

उनले  यस्ता कलबाट बच्न अनावश्यक ठाउँमा मोबाइल नम्बर रजिस्टर नगर्न उपभोक्तालाई आग्रह गरे।  प्राधिकरणका निर्देशक खनालले नचिनेको नम्बरबाट कल आएमा कलब्याक नगर्न सुझावसमेत दिए।  स्मार्ट फोन प्रयोगकर्तालाई मोबाइलमा ‘एन्टी भाइरस’का साथै स्पाम कल सेक्युरिटी एप राख्नसमेत उनले आग्रह गरे।   नेपाल टेलिकमले २१६९८…, ६७४५…, ं२१२…लगायतका विभिन्न अन्तर्राष्ट्रिय फोन नम्बरबाट गलत नियतले आएका मिस्ड कल ब्लक गर्न सम्बन्धित क्यारियरलाई आग्रह गरेको जानकारी प्रेस विज्ञप्ति जारी गरी दिएको छ।  यस्ता मिस्ड कलमा कल ब्याक नगर्नसमेत टेलिकमले उपभोक्तालाई आग्रह गरेको छ।   यस्तै एनसेलले पनि अन्तर्राष्ट्रिय नम्बरबाट मिस्ड कल गरी ग्राहकलाई कल ब्याक गर्न उत्प्रेरित गर्ने खालको गतिविधि पाइएको र ‘फ्रड मिस्ड कल’मा कल ब्याक गर्दा उच्च शुल्क लाग्ने भएकाले यस्ता नम्बरबाट मिस्ड कल आएमा परिचित नम्बर हो कि होइन यकिन गरी कल ब्याक गर्ने, नगर्ने निर्णय लिन आग्रह गरेको छ। गोरखापत्रमा समाचार छ

फेसबुकबाट तपाईको प्रतिक्रिया