तपाईको तौल कति हुनुपर्छ ?

डा भारत रावल

स्वस्थ रहन सबैले आफ्नो तौलको जानकारी लिनुपर्छ । यो सजिलैसंग जान्न सकिन्छ । यसको सूत्र हो, आफ्नो उचाई (सेन्टिमिटर) मा १०० घटाउने । त्यसपछि आउने प्रतिफल नै आफ्नो वाञ्छित तौल हुन्छ ।

यो भनेको यदि आफ्नो उचाई १७० सेन्टिमिटर छ भने त्यसमा १०० घटाइदिनुहोस्, बाँकी ७० केजी तपाईंको हुनुपर्ने तौल हो । याे भन्दा बढी ताैल छ भने तपाईंले तौल घटाउने लक्ष्य लिइहाल्नुपर्छ ।

उदाहरणका लागि यदि कसैको उचाई १६७ सेमि छ र उसको तौल ८८ केजी छ भने उसको हुनुपर्ने तौल बढीमा ६७ केजीमात्र हो । यसको मतलब उसको २१ केजी तौल बढी छ र उसले त्यो २१ केजी बढी तौल घटाउने लक्ष्य लिइहाल्नुपर्छ ।

तौल व्यवस्थापन भनेको खाने र अरु बानीको व्यवस्थापन हो, जसले तौल घटाएर केही रोग लाग्ने जोखिम घटाउँछ । साधारणतयाः मुटुका मांसपेशी र यसको कार्यक्षमता ३० वर्षको उमेरपछि कम हुँदैं जान्छ । यस्तो घट्ने क्रम कम  गर्नका लागि शारीरिक गतिविधि बढाउँदैं लैजानुपर्छ ।

हामीलाई के कुरा थाहा छैन भने उमेर बढ्दै गएपछि हामी कति निष्क्रिय हुन्छौं । उमेर, सम्पत्ति र पेशागत कुरा बढ्दै गएपछि शारीरिक रुपमा हामी कार्यालय तथा घरको दैनिक क्रियाकलापमा निष्क्रिय हुँदैं जान्छौं । त्यसैले हामीले क्यालोरी नष्ट गर्न उपयुक्त कोशिस गर्नुपर्छ । यसका लागि हाम्रो दैनिक जीवन व्यायामसहितको क्रियाशिल हुनुपर्छ । नियमित व्यायामले रगतको कोलेस्टेरोल, ट्राइग्लिसराइड्स, मधुमेह तथा रोगका अन्य कारण तत्वहरु घटाउँछ ।

प्रत्येक दिन शारीरिक तवरमा सक्रिय वा क्रियाशिल रहने लक्ष्य राख्नुहोस् । तौल बढी वा ज्यादै मोटोपन भए पनि तपाईं स्वस्थ रहनसक्नुहुन्छ । २५ हजारभन्दा बढी स्वयम्सेवक र अनुसन्धानकर्ताले एउटा अध्ययनबाट के पत्ता लगाए भने शारीरिक तौलभन्दा तन्दुरुस्ती मृत्युको सशक्त भविष्यवाणीकर्ता हो । बढी तौल भएको तर शारीरिक रुपमा ठीक नभएको मानिसभन्दा बढी तौल भएपनि शारीरिक रुपमा तन्दुरुस्त मानिसमा मृत्युको खतरा कम हुन्छ ।

युवाहरुले प्रत्येकदिनजस्तो  ४० देखि ५० मिनेट व्यायाम गर्नुपर्छ । नियमित खाना खानु स्वास्थ्यवद्र्धक खानाको महत्वपूर्ण भाग हो । दिनभरिमा कम्तीमा ५ पटक थोरै थोरै खाना खानुपर्छ र खान कहिल्यै पनि छाड्नुहुँदैंन । खाना छाड्नेले त्यसपछिको खाना खाँदा धेरै खाने सम्भावना बढी हुन्छ । जहिले जहाँ पायो त्यहाँ खाएको भन्दा योजनाबद्ध तरिकाले समय समयमा खाएको खाना बढी सन्तुलित हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया