‘तमिल नाडु र नेपाल बिचको सिधा सम्पर्क प्रभावकारी हुनुपर्छ’–चेम्बर अध्यक्ष श्रेष्ठ

बिजनेसपाटी ३० श्रावण ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले भारतको तमिल नाडु र नेपाल बिचको सिधा सम्पर्क थप प्रभावकारी र बहुआयामिक हुनुपर्ने बताएका छन् । ’भाइब्रेन्ट तमिल नाडु एक्स्पो एण्ड समिट’ द्वारा तमिल नाडूको मधुराइमा आयोजना गरिएको ग्लोबल एक्स्पो एण्ड समिटमा बोल्दै उनले सो बताएका हुन् ।

दर्जन बढी राष्ट्रका सोह्र जना बिश्वस्तरीय व्यावसायिक बिज्ञहरु सम्मिलित उक्त कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले भने, “भौतिक पूर्वाधार लगाएत बहु–आयामिक रुपमा तमिल नाडूको नेपालसंगको सम्पर्क प्रभावकारी हुदा नेपाल संगको कृषि, पर्यटन, संस्कृति र जन–सम्बन्ध नयाँ ढंगमा अघि बढ्ने र त्यसले नेपाल र तमिल नाडु दुबैलाई फाइदा हुनेछ ।“

तमिल नाडुका खाद्य उद्योगहरुलाई नेपाली खाद्य उद्योगसंग जोडनको लागि व्यापारिक प्रतिनिधि मण्डलको आदान–प्रदानमा बृद्दी, दुई–पक्षीय र बहुपक्षीय गोष्ठीमा तिब्रता र दुई–पक्षीय ’बिजनेस–टू–बिजनेस’ कार्यक्रमको आयोजनामा बढोत्तरी हुनुपर्ने कुरा समेत श्रेष्ठले बताए ।

साथै नेपालको कृषि र अन्य क्षेत्रमा भारतीय र अन्य देशको लगानीको लागि उपयुक्त वातावरण बन्दै गएकोले त्यसको लागि उनले बिश्वभरका व्यवसायीहरुको ध्यानाकर्षण गर्नुभयो । कृषि क्षेत्रमा संयुक्त अनुसन्धान, प्रबिधि हस्तान्तरण, खाद्य प्रशोधन कम्पनीको स्थापना आदि काम महत्वपूर्ण भएको कुरामा समेत उनले जोड दिए । नेपाल उर्वर भुमी भएको, कामदारहरु सुलभ मुल्यमा पाउन सकिने र भौगोलिक तथा वातावारनिय बिबिधतायुक्त देश भएकोले संसारमै लगानीको लागि उपयुक्त राष्ट्र भएको उनको भनाई थियो ।

कार्यक्रममा तमिल नाडुका राजस्व तथा प्रकोप व्यवस्थापन मन्त्री थिरु आर. बि. उधयकुमारले नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको ४७ सदसीय प्रतिनिधि मण्डलको उपस्थितिले तमिल नाडु र नेपालको कृषि सम्बन्ध नयाँ तरिकाले अघि बढ्ने र त्यो पारस्परिक लाभमा आधारित हुने कुरा बताए ।

नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलमा नुवाकोट चेम्बर अफ कमर्स, गोदावरी चेम्बर अफ कमर्स (कैलाली), रुपन्देही चेम्बर अफ कमर्स, स्यांग्जा चेम्बर अफ कमर्स र रुकुम पूर्व चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डल पनि समाबेश थियो । उक्त भाइब्रेन्ट तमिल नाडु एक्स्पो २०७५ श्रावन २७ देखि ३० सम्म तमिल नाडुको मधुराइमा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया