तमोर नदी थुनिएर बनेको ताल तत्काल नफुट्ने अध्ययन टोलीको निष्कर्ष

काठमाडौँ ३० असार,
ताप्लेजुङ-ताप्लेजुङको सावादिन–१ स्थित नाक्ला भिरबाट खसेको पहिरोले तमोर नदी थुनिएर बनेको जोखिमपूर्ण ताल तत्काल फुट्ने सम्भावना नरहेको अध्ययन टोलीले निष्कर्ष निकालेको।
शनिबार बिहान झरेको पहिरोले नदी थुनिएर खतरा बढ्दै गएपछि तीन दिनपछि पुगेको अध्ययन टोलीले तत्काल ताल नफुट्ने र अहिलेकै अवस्थामा नदीले कटान गरेर बगिरहेमा तमोर नदी किनारका बस्तीमा क्षति गर्ने सम्भावना नरहेको निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्रप्रसाद भट्टराईले बताए।
अध्ययन टोलीका संयोजक एवम् जिल्ला भू–संरक्षण कार्यालयका प्रमुख हरिबहादुर कुँवरले ताल बनेको स्थलको अधिकतम क्षेत्रमा चट्टान आएर बसेकाले तत्कालीन अवस्थामा ताल फुट्ने खतरा नरहेको बताए।
ताल फुटेर हुने जोखिमको तत्कालीन अवस्था अध्ययन गरी प्रतिवेदन तयार गर्न आज दिउँसो १३ सदस्यीय अध्ययन टोली सो स्थानमा पुगेको थियो । टोलीमा इन्जिनियर, प्राविधिक, रेडक्रसकर्मी, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका प्राविधिक अधिकृत सामेल रहेका थिए ।
हाल जमेको पानीबाहेक अब जम्मा हुने अवस्था नरहेको र आएजति पानी निकास हुनसक्ने भएकाले जोखिम नरहेको अध्ययन टोलीले तयार गरेको प्रतिवेदनमा उल्लेख छ। अध्ययनपछि टोलीले नदी किनारका स्थानीयवासीलार्ई नआत्तिन तर सचेत भने रहन आग्रह गरेको छ।
भौगोलिक विकटताका कारण अध्ययन टोलीले तालको पानीलाई तत्कालै बगाउने अवस्था नरहेको समेत बताएको छ। यस्तै अध्ययन टोलीले पानी जमेर बनेको तालको लम्बाइ ३५० मि र चौडाइ १२० मि साथै १५ मि गहिराइ रहेको जनाएको छ। तालमा अनुमानित छ लाख ३० हजार घनमिटर पानी जम्मा भएको हुनसक्ने अनुमान छ। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया