तहल्का मच्चाउने गरी मात्र पर्दामा आउँछु

काठमाडौँ ८ पौष

अभिनयसँगै विगत दुई दशकदेखि भुवन केसी फिल्म निर्माणमा पनि सक्रिय छन् । उनका ‘कुसुमे रुमाल’, ‘सम्झना’, ‘साइनो’, ‘कन्यादान’, ‘तृष्णा’, ‘चिनो’, ‘सपना’, ‘करोडपति’, ‘नेपालीबाबु’, ‘म तिमीविना मरिहाल्छु’लगायतका थुप्रै फिल्म हिट छन् । सर्वाधिक हिट फिल्म दिने अभिनेताका रूपमा पनि लिइन्छ उनलाई । तर, पछिल्लो समय उनी पर्दामा देखिएका छैनन् ।

‘ड्रिम्स’ फिल्मबाट निर्देशकका रूपमा डेब्यु गरेका भुवन अचेल ‘कृ’ फिल्मको तयारीमा छन् । सुरेन्द्र पौडेलको निर्देशनमा भुवनले सुवास गिरीका साथ निर्माण गर्न लागेको ‘कृृ’को सुटिङ फागुनबाट गरिनेछ । भुवनपुत्र अनमोल ‘कृ’मा शीर्ष भूमिका छन् । ड्रिम्समा झैँ ‘कृ’मा पनि भुवनले अभिनय गर्ने छैनन् । अभिनयमा किन पछि हटिरहेका छन् त भुवन ? उनका शुभचिन्तकले सोध्ने गरेका छन् ।

‘मैले अभिनय छाडेको होइन,’ भुवन भन्छन्, ‘म कलाकार हुँ । त्यसैले जिन्दगीभर अभिनय छाड्न सक्दिन“ । तर, केही समय पर्दाबाहिरै रहन चाहेको छु । आफूलाई फिट हुने, मन पर्ने भूमिका भयो भने मात्रै फिल्म खेल्छु ।’

ड्रिम्समा आफूलाई मिल्ने भूमिका नभएर अभिनय नगरेको बताउने भुवन ‘कृ’मा पनि देखिने छैनन् । ‘खेल्नका लागि खेल्ने होइन कि, पहिला झैँ तहल्का मच्चाउने गरी मात्रै पर्दामा आउँछु,’ उनी भन्छन्, ‘म दर्शकलाई निरास पार्न चाहन्नँ । त्यसैले पैसाका लागि मात्र, जुन पायो त्यही रोलमा, संख्या बढाउन या अन्य कुनै स्वार्थमा म दर्शकलाई धोका दिन चाहन्नँ ।’ दर्शकले दिएको माया र सम्मानलाई सधैँ कायम राख्न चाहने भएकाले अफर आएका कतिपय फिल्म स्वीकार नगरेको उनको दाबी छ ।

सानो उमेरमै छोरा अनमोलले ‘स्टारडम क्रिएट’ गरेकोमा भुवन निकै खुसी छन् । ‘अनमोल जम्मा २० वर्षको भयो । उसले आफ्नो बेग्लै पहिचान बनाएको छ । यसमा मलाई निकै खुसी लाग्छ ।’ उनी भन्छन्, ‘अनमोल सबै कुरा चित्त नबुझेसम्म फिल्म साइन गर्दैन । उसले स्टारडम बुझेको छ ।’

कतिपयले बाबु भुवनले छोराको काममा हस्तक्षेप गर्छन् भन्ने आरोप पनि लगाउने गरेका छन् । तर, भुवन यी आरोप निराधार भएको बताउँछन् । ‘अनमोल मेरो छोरो भए पनि मेरो साथीजस्तै छ । मैले उसलाई पाँच वर्षको उमेरदेखि नै उसलाई ठीक लागेको गर्न दिएको छु । म उसको कुनै कुरामा पनि हस्तक्षेप गर्दिनँ,’ उनी भन्छन्, ‘सबै कुरा चित्त बुझ्यो भने मात्रै फिल्म साइन गर्छ । चित्त बुझेन भने ५० लाख दिए पनि मान्दैन । ऊ पैसाका लागि काम गर्दैन । उसलाई पैसा कमाएर थुपार्नुपर्ने आवश्यकता पनि छैन ।’

बाबु हुनुको नाताले सुझाब सल्लाह दिने गरेको भए पनि अन्तिम निर्णय भने अनमोलकै हुने गरेको भुवन बताउँछन् । ‘मैले बुझे जानेसम्मको सल्लाह, जानकारी उसलाई दिने गर्छु । तर, मैले तैँले यो गर्नैपर्छ, यो गर्नै हुँदैन भनेर कहिल्यै हस्तक्षेप गर्ने गरेको छैन । उसलाई जे ठीक लाग्छ, उसको निर्णय नै अन्तिम हुन्छ ।’

अनमोल अभिनीत सबै फिल्म, ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ र ‘गाजलु’ हिट भए । जसकारण उनलाई एक मात्र सुपरस्टारका रूपमा हेरिने गरिएको छ । अनमोललाई फिल्ममा लिन चाहने निर्माता, निर्देशक थुप्रै छन् । तर, अनमोल हत्तपत्त फिल्म साइन गर्दैनन् । यसमा पनि आफ्नो कुनै भूमिका नहुने दाबी भुवनको छ । ‘साथीभाइले अनमोललाई भन्दिनुप¥यो भन्छन् । मैले त भन्छु नि ! तर, उसको चित्त बुझ्नुपर्छ । कथा, निर्देशक, ब्यानर सबै हेर्छ । उसलाई मन प¥यो भने पैसाको पनि महत्व राख्दैन।’

उनी भन्छन् । ‘कृ’पछि भुवन आफ्नो निर्देशनमा दोस्रो फिल्म निर्माण गर्ने योजनामा छन् । सो फिल्ममा अनमोल नै प्रमुख भूमिकामा हुनेछन् । तर, सो फिल्ममा पनि आफूले अभिनय नगर्ने मनसाय भुवनको छ । ‘म केहीपछि पर्दामा आउँछु । यसरी आउँछु कि, फेरि एकचोटि तहल्का मच्चिनेछ,’ भुवन भन्छन्, ‘त्यो खालको स्क्रिप्टको खोजीमा छु ।’नयपत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया