तिजमा नौ लाखले पशुपतिनाथ दर्शन गर्ने

काठमाडौँ १९ भदौ

मन्दिर परिसरमा हुने भीडभाडलाई लक्षित गरी विशेष सुरक्षा व्यवस्था अपनाइएको छ । चार हजार दुई सय नेपाल प्रहरी खटिनेछन् भने सशस्त्र प्रहरीको टोली पनि परिचालित हुनेछ । यस्तै, गोप्य सूचना संकलनका लागि गुप्तचर पनि खटाइने सदस्यसचिव टण्डनले जानकारी दिए ।

हिन्दू नारीको महान् पर्व हरितालिका तिजको अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीको सुविधाका लागि सम्पूर्ण तयारी पूरा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थीको संख्या अत्यधिक हुने भएकाले सहज रूपमा पशुपतिनाथको दर्शन गर्ने व्यवस्था मिलाइएको तथा आवश्यक सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था अपनाउने तयारी गरिएको कोषले जनाएको छ ।

कोषले यस वर्ष दर्शनार्थीको संख्या नौ लाख पुग्ने अनुमान गरेको छ । कोषका अनुसार मन्दिर दर्शन गर्न मुलुकभरबाट दर्शनार्थी आउँछन् । पशुपति मन्दिर प्रवेश गर्ने चारवटै ढोका खुला गरिने भएको छ । उत्तर, पश्चिम र दक्षिण ढोका सर्वसाधारणका लागि खुला गरिनेछ भने पूर्वी ढोका विशेष पूजा गर्नेका लागि खुला गरिनेछ ।

विशेष पूजा गर्नेले दुई हजार एक सय रुपैयाँ तिर्नुपर्छ । त्यसबाहेक ५१ सय, ११ हजार, २७ हजार, ५६ हजारदेखि ११ लाखसम्मको टिकट व्यवस्था गरिएको छ । तर, दर्शनार्थीले दुई हजार एक सय र पाँच हजार एक सय रुपैयाँको टिकट काटेर दर्शन गर्नेको संख्या बढी हुने कोषको अनुमान गरेको छ ।

कोषका सदस्यसचिव डा. गोविन्द टण्डनका अनुसार मन्दिरभित्र प्रवेश गरेको ४५ मिनेटभित्र पूजा गरिसक्नुपर्छ । ‘दर्शन छिटो होस् भन्ने उद्देश्यले विशेष व्यवस्था गरिएको छ,’ टण्डनले भने, ‘दर्शनार्थीले ४५ मिनेटभित्र पूजा गरिसक्ने गरी व्यवस्था मिलाएका छौँ ।’ नयाँ पत्रिकाबाट

 

फेसबुकबाट तपाईको प्रतिक्रिया