‘तिम्रो खबर आएन खै..’ ( भिडियो सहित )

बिजनेस पाटी  २३ श्रावण

आधुनिक संगित क्षेत्रमा उदयमान प्रतिभा मानिएका मदनगोपालले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । विगत लामो समयदेखि सांगितिक क्षेत्रमा सक्रिय मदनले यसपटक ‘तिम्रो खबर आएन खै ..’ बोलको गीत र त्यसको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
पारस नेपालको शब्द रहेको उक्त गीतमा संगीत र एरेन्ज पाकिस्तानी संगितकार इमाद रहमानले गरेका छन् । ‘तिम्रो खबर आएन खै …’ गीत मदनगोपालको पाँचौं एल्वम ‘तिम्रो खबर’ मा रहनेछ । एल्वम दशैंअगाडि सार्वजनिक हुने जनाइएको छ । मदनगोपालले यसअघि ‘अलमोस्ट’, ‘आकृति’, लक्ष्मी’ र ‘कामिनी’ एल्वम निक्लिसकेका छन् । उनले ‘साँघुरो’, ‘खुड्किलो’, सहित केही फिल्मका गीतमा स्वर तथा संगीत दिएका छन् भने बालगीत, भजन, स्वदेशगान लगायत पनि गाएका छन् ।
‘तिम्रो खबर ..’ म्युजिक भिडियोमा अभिनेता भोलाराज सापकोटा, वर्षा सिवाकोटी र केभिन कार्कीले अभिनय गरेका छन् । युवा शिवराम श्रेष्ठको खिचाईमा निर्देशक सुरजसिंह ठकुरीले उक्त म्युजिक भिडियोको निर्देशन गरेका हुन् भने एडिटिङ लोकेश बज्रचार्यले गरेका हुन् । गीतको अडियो/भिडियो म्युजिक नेपाल मार्फत गरिएको हो ।
‘इमाद दुई वर्षअघि काठमाण्डु आएका बेला कल्चरल एक्सचेन्जका रुपमा यो गीतको काम सुरु भएको थियो’ मदनले भने, ‘संगीतलाई देश, भाषा, जात, धर्म केहीले पनि छेक्न सक्दैन भन्ने उदाहरण बनेको छ ।’ उनका अनुसार म्युजिकको मिक्सिङ र मास्टरिङ पाकिस्तानमा भएको हो । ‘पारस नेपालले १८ वर्ष अघि बनारसमा बस्दा रचेको शब्दलाई संगीत भरेर जीवन्त बनाइयो’, उनी भन्छन्, ‘संगीत कहिल्यै पुरानो हुँदैन ।’
मोरङको सिजुवा सौठा घर भएका मदनको सांगीतिक सुरुवात विराटनगरबाट भएको थियो । संगीतकार कुशेश्वर राईबाट प्रारम्भिक ज्ञान लिएर राजधानी प्रवेश गरेका उनले शास्त्रीय संगीतमा स्नातकोत्तर गरेका छन् । त्रिविबाट व्यवस्थापनमा स्नातक सकेका मदन राजधानीका चेल्सी इन्टरनेशनल एकेडेमी, ओलम्पिया वल्ड हायर सेकेन्डरी स्कूल, भीएस निकेतन, माइती नेपाल, नेपाल संगीत विद्यालय, सत्प्रज्ञा  स्कूल लगायतमा संगीत सिकाउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया