तीर्थ दाइ प्रति !

– भरत भारद्वज

कुनै गाउँको गोरेटो
कुनै पहाडको खुडकिलो भएर
अथवा कुनै नदीको बलौटे किनार भएर
हामी सिंहदरवार पुग्न सक्दैनौँ
त्यहाँसम्म पुग्न हामीलाई चक्ला÷फराकिला
अलकत्रे सडकै चाहिन्छ,
अथवा दौरा सुरवाल माथि ढाका टोपी नै चाहिन्छ
सिंहदरवारले गोरेटो र पँधेराको कुरा गर्दैन
सिंहदरवारमा विकासका कुरा गर्दा
भोकोपेट नाङ्गो आङ छोप्नु पर्छ भन्ने कुरा
तिम्रो ठिकै हो,
राणाले छाडेर गए पनि
सिंहदरवारमा राणाको प्रेत जिउँदै देख्ने
जहाँ अचेल ज्यू हजुर खुरापाती चल्ने
सिंहदरवारको बाटोमा जहाँसुकै भएपनि
चिल्ला र विदेशी कार सलल वगेको देख्ने
शायद तिमी गलत हैनौ,
हिजो भर्खर सिंहदरवार जलेको देख्दा
जनताको मान्छे बस्ने हुनाले, त्यो जल्दा
हामी कतिका आँखा जले, कतिको मुटु जले
तर मेरो गाउँ पहिरोले पुर्दा
सिंहरवारको केही जलेन भन्ने

दाई तिम्रो कुरा ठिकै हो,
यति मात्र होइन दाइ
सिंहदरवारका अनेकौं गल्ती छन्
अनेकौ अपराध छन्
अनेकौं मूर्खता छन्
अनेकौं पर्खाल छन्
अनेकौं हत्या दुखान्त पर्व छन्
अनेकौं पाप छन्
अनेकौं लगाम अंकुश छन्
राजदरवारका झैं
सिंहदरवारलाई पनि
म्यूजियम बनाउनु पर्छ
भन्ने चैं मेरो कुरा ठिक होइन ?

फेसबुकबाट तपाईको प्रतिक्रिया