तेलको भाउ बढ्यो

माघ ११  सिङ्गापुर ।

सोमवार एशियाली बजारमा कच्चा तेलको भाउ बढेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरूको सङ्गठन (ओपेक)ले सङ्गठन तेल उत्पादन दैनिक १८ लाख ब्यारेल कटौती गर्ने लक्ष्यनजिक पुगेको बताएपछि तेलको भाउले टेवा पाएको हो । एशियाली बजारमा सोमवार अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इण्टरमिडियटको भाउ शून्य १ प्रतिशतले बढी प्रतिब्यारेल ५३ डलर २७ सेण्टमा पुगेको थियो । उता सोही समयमा अन्तरराष्ट्रिय बेञ्चमार्कको भाउ पनि प्रतिब्यारेल शून्य दशमलव १ प्रतिशतले नै बढेर ५५ डलर ५३ सेण्ट पुगेको थियो ।

ओेपेकले उत्पादन कटौतीमा सहमति गरेयता तेलको भाउ करीब २० प्रतिशत बढिसकेको छ । यद्यपि, यो वृद्धि मनोबलले डो¥याएको र उत्पादकहरूले प्रतिबद्धता जनाएअनुरूप तेल कटौती नगरेमा तेलको भाउ बढ्ने क्रम रोकिने चेतावनी विश्लेषकहरूले दिएका छन् । उता, वन्दा इन्साइट्सका संस्थापक वन्दना हरीले समेत कटौतीको प्रभाव मापन अहिले नै गर्नु निकै छिटो भएको बताएका थिए ।

तेल उत्पादन कटौतीको नियमन हुने
पेट्रोलियम पदार्थ निर्यातक राष्ट्रहरूको सङ्गठन (ओपेक) र नन्ओपेकका पाँच राष्ट्रका प्रतिनिधि सहभागी बैठकले तेल उत्पादन कटौतीको नियमन गर्ने सहमति गरेका छन् । ओपेक र नन्ओपेक राष्ट्रका मन्त्रीस्तरीय अनुगमन समितिको बैठकले सो निर्णय गरेको हो । यसअघि सन् २०१६ को डिसेम्बर महीनामा ओपेकका १३ सदस्य राष्ट्र र नन्ओपेकका ११ सदस्य राष्ट्रले यसै वर्षको जनवरी १ बाट लागू हुने गरी उत्पादन कटौती गर्ने सहमति गरेका थिए । बैठकमा उत्पादन कटौती कार्यान्वयनका सम्बन्धमा छलफल भएको थियो ।

यसैगरी समग्र पेट्रोलियम पदार्थ उत्पादक राष्ट्रको उत्पादन मिलान गरी प्रतिदिन १८ लाख ब्यारेल पुर्‍याउने सम्बन्धमा पनि सो बैठकमा छलफल भएको बताइएको छ । बैठकमा ओपेकको सचिवालय भियनामा प्रत्येक महीनाको उत्पादन विवरण पेश गर्ने पनि सहमति भएको छ । ओपेकले कार्यान्वयनको प्रगति विवरण मासिक रूपमा सार्वजनिक गर्ने उल्लेख गरेको छ । बैठकमा ओपेकका अल्जेरिया, कुवेत र भेनेजुएलाका साथै नन्ओपेकका रूस र ओमनका प्रतिनिधिहरू उपस्थित थिए । डिसेम्बरको सहमतिमा ६ महीनासम्मका लागि उत्पादन कटौती गरिने उल्लेख छ । यसका साथै आवश्यकता बमोजिम उत्पादन कटौतीको म्याद थप गर्न सकिने पनि बताइएको छ । एजेन्सीहरू

फेसबुकबाट तपाईको प्रतिक्रिया