त्रिवि दीक्षान्त समारोहमा एकै व्यक्तिले प्राप्त गरे तीन पदक
काठमाडौँ, १६ पुस
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा एकै व्यक्तिले तीन वटा पदक प्राप्त गरेका छन् ।
स्नातकोत्तर तहको विस २०७१ तर्फ प्रशन्नकुमार तामाङले चान्सलर पदक, त्रिवि प्राध्यापक संघ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक गरी तीन वटा पदक प्राप्त गर्नुभएको हो ।
स्नातकोत्तर तहको प्रथम श्रेणीमा प्रथम र सम्पूर्ण स्नातकोत्तर तहमा सर्वप्रथम भएकाले उहाँले उक्त तीन वटा पदक प्राप्त गर्नुभएको त्रिविको परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले बताउनुभयो ।
उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका–३ का तामाङले स्नातकोत्तर तहमा गणित विषयमा केन्द्रीय विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट उत्तीर्ण गर्नुभएको हो । उहाँले आफूले तीनबाट पदक पाएकामा खुशी व्यक्त गर्नुभयो । ‘‘मिहनेतको फल प्राप्त भएको अनुभव भएको छ”, उहाँले भन्नुभयो, ‘‘पदकले मलाई थप हौसला प्रदान गरेको छ ।”
तामाङले गणित विषयमा विद्यावारीधि गर्नका लागि अमेरिका जाने तयारीमा रहेको बताउँदै विद्यावारीधि गरेसकेपछि पुनः नेपालमा फर्की विश्वविद्यालयमा शिक्षण पेशा गर्ने धारणा व्यक्त गर्नुभयो ।
यसैगरी समारोहमा त्रिवि प्राध्यापक संघद्वारा स्थापित शहीद हरिराज अधिकारी स्वर्ण पदकबाट व्यवस्थापन संकायमा एमफिलतर्फ सर्वोकृष्ट अंक ल्याउने डम्बर सुवेदीलाई सम्मान गरिएको छ । उहाँ जनप्रशासन क्याम्पस बल्खुबाट एमफिल गर्नुभएको हो ।
त्यस्तै समारोहमा स्नातकोत्तरतर्फ २० र स्नातकतर्फ ११ जनालाई समेत विभिन्न पुरस्कार प्रदान गरिएको छ । सबैलाई प्रधानमन्त्री तथा त्रिविका कुलपति शेरबहादुर देउवा र भारतस्थित जवारलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्राडा एम जगदीश कुमारले पुरस्कार तथा पदक प्रदान गर्नुभएको हो ।
समारोहमा विभिन्न संकायबाट ६२ जनालाई विद्यावारीधि उपाधि प्रदान गरिएको छ । पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसको प्राङ्गणमा भएको दीक्षान्त समारोहमा ६ हजार २६७ विद्यार्थी दीक्षित भएका थिए ।(रासस)
फेसबुकबाट तपाईको प्रतिक्रिया