दक्षिण अफ्रिकाको बेरोजगारी दर १४ वर्षकै उचाइमा

केपटाउन (दक्षिण अफ्रिका) २०,जेठ ।

सन् २०१७ को पहिलो त्रैमासमा दक्षिण अफ्रिकाको बेरोजगारी दरमा उच्च वृद्धि भएको एक तथ्याङ्कले देखाएको छ । सो अवधिमा कृषि तथा व्यापार क्षेत्रमा रोजगारी घटेका कारण बेरोजगारी दर बढेको बताइएको छ । जनवरी–मार्च अवधिमा अफ्रिकाको बेरोजगारी दर अघिल्लो त्रैमासको तुलनामा बढेर २७ दशमलव ७ प्रतिशतमा उक्लिएको त्यहाँको तथ्याङ्क कार्यालयले बताएको छ । अघिल्लो त्रैमासमा भने बेरोजगारी दर २६ दशमलव ५ प्रतिशत थियो ।

पहिलो त्रैमासको बेरोजगारी दर सन् २००३ यताकै उच्च हो । सो अवधिमा कामविहीनको सङ्ख्या ४ लाख ३३ हजारले बढेर ६२ लाखमा उक्लिएको थियो । गतवर्ष दक्षिण अफ्रिकाको अर्थतन्त्र शून्य दशमलव ३ प्रतिशतले बढेको थियो । आर्थिक वृद्धिको यो दर सन् २००९ को विश्वव्यापी वित्तीय सङ्कटयताकै उच्च हो । सो अवधिमा अफ्रिकामा परेको खडेरी, कमोडिटिको भाउमा आएको कमी र प्रमुख निर्यात बजारको मागमा आएको कमीका कारण अर्थतन्त्र प्रभावित बनेको हो । यसले सरकारलाई रोजगारी सृजना बढाउन बाधा उत्पन्न गराएको विश्लेषण गरिएको छ ।

आर्थिक वृृद्धिको दर कमजोर बनेकाले बेरोजगारी दर बढ्ने क्रम जारी नै रहने बताइएको छ । जनवरी–मार्च अवधिमा कृषिक्षेत्र र व्यापार क्षेत्रमा रोजगारी दर क्रमशः ४४ हजार र १५ हजारको सङ्ख्यामा घटेको तथ्याङ्कले देखाएको छ । यद्यपि म्यानुफ्याक्चरिङ क्षेत्रमा भने रोजगारी दर अघिल्लो त्रैमासको तुलनामा ६२ हजारले बढेको छ । यो वर्ष अफ्रिकाको अर्थतन्त्र १ प्रतिशत र अर्को वर्ष भने अर्थतन्त्र १ दशमलव ५ प्रतिशतले बढ्ने केन्द्रीय बैङ्कको प्रक्षेपण रहेको छ । यद्यपि आर्थिक वृद्धिमा आउने सुधारले यो वर्ष बेरोजगारी दरलाई केही हदसम्म कम गर्ने अनुमान भने गरिएको छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया