दबाब र स्वार्थमा संविधान संशोधन हुँदैन: ओली
काठमाडौं २१ भदौ
पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कसैको दबाब र स्वार्थमा संविधान संशोधन हुन नसक्ने बताएका छन् ।
दुई साता लामो उपचारपछि सोमबार थाइल्याण्डबाट फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको औचित्य प्रष्ट पार्न सरकारलाई आग्रह गरे । ‘कुनै दबाब, बहकाउमा कुनै पनि हिसावमा देशको अहित हुने गरी लोकतन्त्रलाई अप्ठ्यारो पार्ने गरी कसैको स्वार्थ अर्घेल्याईं सम्बोधन गर्ने नाममा संविधान सशोधन गर्ने विषय होइन,’ उनले भने ।
आन्दोलनकारीका मागअनुसार एकपटक संविधान संशोधन भइसकेको उल्लेख गर्दै ओलीले नयाँ मागबारे आफू जानकार नभएको बताए । ‘एकपटक संविधान बन्नेवित्तिकै पनि संशोधन गर्यौं, उहाँहरुका माग सम्बोधन गर्यौं,’ उनले भने, ‘अब के माग हुन् ? जसले भनिरहनुभएको छ, उहाँहरुसग कुनै माग देखिंदैन, उहाँहरुले भन्नुभएको छैन ।’
संविधान संशोधनको औचित्यबारे सरकारले पनि प्रष्ट पार्न नसकेको उनले बताए । ‘सरकारका तर्फबाट यो यो बुँदामा यसरी गर्नुपर्यो भनेर आएको छैन,’ उनले भने, ‘अखबारी हल्लाहरु, सञ्चारमाध्यमका कुराका भरमा केही भनिरहनु आवश्यक छैन ।’
ओलीले संविधान गतिशील दस्तावेज भएको बताउँदै तर लडहवाजी, जिद्धि र आग्रह राखेर संविधान संशोधन हुन नसक्ने बताए । ‘देशको आवश्यकता, अग्रगमनका लागि, देशका इज्जत प्रतिष्ठालाई माथि उठाउन संशोधन गर्न सकिन्छ,’ उनले भने । आजको कान्तिपुर दैनिकमा समाचार छ
फेसबुकबाट तपाईको प्रतिक्रिया