दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या

काठमाडौँ २१ माघ

पथरी, मोरङ – सर्वसाधारणलाई सहुलियतमा स्वास्थ्य सेवा दिइरहेको कोशी अञ्चल अस्पताल विराटनगरमा स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नपठाउँदा समस्या भइरहेको छ । दरबन्दी पूर्ति हुन नसक्दा एघारौँ तहका विशेषज्ञ ९कन्सलटेन्ट० चिकित्सकको सेवा आठौँँ तहका मेडिकल अफिसरले दिनुपर्ने बाध्यता छ । दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको अस्पतालले जनाएको छ । कोशीमा एघारौँ तहका विशेषज्ञ ९कन्सलटेन्ट० ४० र मेडिकल अफिसर ३४ गरेर ७४ जना चिकित्सकको दरबन्दी छ ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरेलले ४० जनाको दरबन्दी रहे पनि एघारौँ तहका कन्सलटेन्ट चिकित्सक आधा पनि नरहेको बताए । आठौँ तहका मेडिकल अफिसर पनि ३० जना मात्रै छन् ।

मेसु पोखरेलका अनुसार दरबन्दी विशेषज्ञ चिकित्सकको भए पनि अस्पताल विकास समितिबाट मेडिकल अफिसरलाई नियुक्ति गरेर सेवा दिनु परिरहेको छ । उनले कन्सलटेन्टको दरबन्दी रहेका ठाउँमा मेडिकल अफिसरलाई करारमा अस्पताल विकास समितिबाट नियुक्ति दिएर काममा लगाउनुपर्ने अवस्था रहेकोले बिरामीले पाउने स्वास्थ्य सेवामा पनि समस्या हुने गरेको बताए ।

उनीहरुको सबै खर्च अस्पताल विकास समितिले नै बेहोर्नु पर्छ । सरकारले विभिन्न सेवा थप गर्दै औजार र उपकरण पठाउने गरे पनि दक्ष चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको अस्पतालले जनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा आरएल करुवाले सरकारले दरबन्दीअनुसार चिकित्सक नपठाउँदाको भार विकास समितिको थाप्लोमा आउने गरेको बताए । अस्पतालको आन्तरिक आम्दानीले खर्च धान्न छाडिसकेको बताउँदै उहाँले करारमा राखिएका चिकित्सक र कर्मचारीलाई समयमा तलव खुवाउन नपाएर समस्या पर्न थालेको जानकारी दिए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया