दर खाँदा सयौँ गाउँले बिरामी

बनेपा, २३ भदौ

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वावम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार आयोजना गरेको दरखाने कार्यक्रममा सहभागी भएर दर खाँदा सो गाँउका सयौँ महिला पुरुष बिरामी परेका छन् ।
दर खान गएकी गीता खनालले भन्नुभयो “गाह्रो भएर कोही सुतिरहनु भएको छ, कोही अस्पतालमा लगिसकेको र कोही ल्याउने क्रममा रहेको छ ।” अर्का बिरामी पाँचखाल नगरपालिका–९ भेटवालथोकका देवकुमारी भेटवालले सहकारी संस्थाको आयोजनामा भएको दरखाने क्रममा बिरामी परेको बताउनुभयो । “सबैजना नै मिलेर पकाएर खाएका हौँ, खै के भयो, खाएपछि सबैजसो बिरामी पर्न थाल्यौँ ।” उहाँले भन्नुभयो, “खानामा चना, केराउ, पुलाउ, पनिर र मुलाको अचार वितरण गरेको थियो ।”
पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले गाउँमा सहकारीले आयोजना गरेको तीजको भोज दर खाँदा गाउँभरिका मानिस बिरामी परेको र उपचारको लागि स्वाथ्य शिविर खडा गरी उपचार गराइरहेको बताउनुभयो । खरेलले भन्नुभयो, “झण्डै ३०० भन्दा बढी नै बिरामी भएको अवस्था छ, केहीको बनेपा र धुलिखेलमा उपचारका लागि पठाइसकेको र बाँकीको गाउँमा नै उपचारको लागि पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र र धुलिखेल अस्पतालको स्वास्थ्यकर्मीको टोलीले उपचार गराइरहेको छ ।”

जिल्ला प्रहरी कार्यालय प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक गिरीका घटनास्थललगायत पाँचखालमा भएको पोलिक्लिनिक र बनेपा धुलिखेलका अस्पतालमा गरी २००० भन्दा बढीको उपचार भइरहेको छ । कोही आफ्नै ढङ्गले उपचार गरी घर फर्किसकेको र कोहीको गाउँमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । सामूहिक भोजमा भएका कारण एकै पटक धेरैजसो बिरामी परेकाले सबैजसो ठाउँमा उपचार भइरहेकाले सङ्ख्या एकीन हुन नसकेको गिरीले बताउनुभयो । उहाँका अनुसार नजिकै रहेको इनार र कुवाको पानी प्रयोग गरेको भन्ने स्थानीय बासिन्दाले जानकारी दिएकाले ती ठाउँमा भएको पानी झिकेर फाल्ने तयारी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार धुलिखेल सामुदायिक अस्पतालमा ७० जना, शिर मेमोरियल अस्पताल बनेपामा ३३ जना, बनेपा हस्पिटलमा १० जना र २६ जनालाई काठमडौँस्थित सिभिल हस्पिटलमा पठाइसकेको छ भने बाँकीको स्थानीयस्तरमा नै उपचार भइरहेको छ ।

पत्रकार ईश्वरी राजकुमार मैनालीका अनुसार पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रबाट बिहान ८ बजेदेखि स्वास्थ्य शिविर सञ्चालन गरेर त्यहाँका जनभावना प्राथमिक विद्यालयको प्राङ्गणमा उपचार गरिरहेको छ । (रासस)

 

फेसबुकबाट तपाईको प्रतिक्रिया