दस करोड खर्चेर गरिँदैछ दामोदरकुण्ड र याकखर्क जोड्ने सडकको स्तरोन्नति

म्याग्दी, ४ फाल्गुन २०८१

गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि १० करोड रूपैयाँ बजेटको स्रोत सुनिश्चितता गरेको छ।

आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ मा ठेक्का प्रक्रिया अघि बढाउने गरी मुस्ताङका दुई सडकलाई ५/५ करोड बजेटको स्रोत सुनिश्चिता गरेको हो।

घरपझोङ गाउँपालिका–२ मार्फादेखि धमाङ– आलुबारी– याकखर्क र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ देखि सुरखाङ–यारा–घारा हुदै घुयुमा ठाटी सम्मको सडक स्तरोन्नति योजना छनौट भएको मुस्ताङको प्रदेशसभा १(२) बाट निर्वाचित प्रदेश सभा सदस्य बिकल शेरचनले जानकारी दिए।

‘भौतिक मन्त्रालयले छनोट र अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि पूर्वाधार विकास कार्यालय मुस्ताङलाई ठेक्का प्रक्रिया अघि बढाउने बाटो खुलेको छ,’ उनले भने, ‘दुई वटै सडक पर्यटन, पशुपालन र कृषिको हिसाबले महत्वपूर्ण छ।’

करिब १३ किलोमिटर दुरीको मार्फा–धमाङ–आलुबारी सडकमा पर्ने मार्फाको पुरानो वस्ति धमाङमा ठूलो स्याउ बगैचा छ। परापूर्व कालमा मार्फाका बासिन्दाले आलु खेती गर्ने आलुबारी क्षेत्र जडिबुटी खेती र दृष्य अवलोकनका हिसाबले महत्वपूर्ण छ।

याकखर्क धौलागिरी चक्रीय पदमार्ग हुदै म्याग्दी तर्फ जाने र आउने बाटोमा पर्छ । यसबाट धौलागिरी हिमाल आरोहण र पदयात्राका लागि जाने आउने पर्यटकहरुलाई सहज हुनेछ् । याकखर्क, आलुबारी क्षेत्रमा याकचौरीको खर्क छ।
हिन्दु र वौद्ध धर्मवालम्बीहरुको साझा तिर्थस्थल दामोदर कुण्ड जाने चराङदेखि सुरखाङ–यारा–घारा हुदै घुयुमा ठाटी सडकबाट स्थानीयबासीका साथै दामोदरकुण्ड जाने आउने तिर्थयात्री र पर्यटकहरुलाई सहज हुने मुस्ताङ प्रदेशसभा १(१) बाट निर्वाचित प्रदेश सांसद नम्दु गुरुङले बताए।

धार्मिक, पर्यटन र पशुपालनका हिसाबले यो सडकको महत्व भएको उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया