दाहालको नेतृत्वमा सरकार बनाउन कांग्रेसको समर्थनः महरा
काठमाडौँ २८ असार
नेपाली कांग्रेसले प्रचण्डको नेतृत्वमा सरकार बनाउने कुरामा समर्थनसहितको पत्र पठाएको माओवादी केन्द्रले बताएको छ।
केपी ओली नेतृत्वको सरकारबाट पार्टी बाहिरिएको जानकारी दिन सो पार्टीको संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका नेता कृष्णबहादुर महराले कांग्रेसले प्रचण्डको नेतृत्वमा सरकार बनाउने विषयमा पार्टीलाई पत्र पठाएको बताए।
महराले सो पत्र कांग्रेसले नै भोलिसम्म सार्वजनिक गर्ने बताए। उनले माओवादीले समर्थन फिर्ता लिएसँगै ओली नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले प्रधानमन्त्रीले राजीनामा दिएर अर्को सरकार गठनको मार्ग प्रशस्त गरिदिनु पर्ने बताए। उनले नयाँ आर्थिक वर्षको बजेट पारित गर्न आफ्नो पार्टीले सहयोग गर्ने पनि बताए। राष्ट्रिय सहमतिको सरकारका लागि वातावरण बन्दै गइरहेको बताउदै महराले साँझ बस्ने एमालेको स्थायी समितिले पनि राष्ट्रिय सरकारका पक्षमा निर्णय गर्ने आफूले विश्वास लिएको बताए। महराले केही दिनभित्रै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया