दिगो विकास लक्ष्य प्राप्तिलाई वार्षिक पौने ६ खर्ब अपुग

काठमाडौं २६, माघ २०७७।

सन् २०३० सम्म हासिल गर्ने भनिएको दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपाललाई वार्षिक पौने ६ खर्ब रुपैयाँ अपुग हुने राष्ट्रिय योजना आयोगको प्रक्षेपण छ । दिगो विकास लक्ष्य कार्यान्वयनका लागि नेपाललाई वार्षिक करिब २० खर्ब २५ अर्ब आवश्यक पर्छ । त्योमध्ये ५ खर्ब ८५ अर्ब रुपैयाँ अपुग हुने आयोगले बताएको छ ।

काठमाडौंमा आइतबार ‘दिगो विकास लक्ष्य प्रगति समीक्षा २०१६–२०१९’ र ‘दिगो विकास लक्ष्य स्थानीय स्रोत पुस्तिका’ सार्वजनिक गर्दै आयोगले अपुगमध्ये २ खर्ब १८ अर्ब सरकारबाट र ३ खर्ब ६६ अर्ब निजी क्षेत्रबाट जुटाउनुपर्ने निष्कर्ष निकालेको छ । दिगो विकास हासिल गर्न नेपाललाई आवश्यक कुल रकममध्ये करिब ५५ प्रतिशत सार्वजनिक र ३६।५ प्रतिशत निजी क्षेत्रबाट योगदान हुने आयोगको प्रक्षेपण छ । यसबाहेक ४।४ प्रतिशत घरपरिवार र ४।३ प्रतिशत रकम सहकारी तथा गैरसरकारी क्षेत्रबाट योगदान हुने आयोगले पुस्तिकामा जनाएको छ ।

सन् २०१५ मा संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रबाट अनुमोदन भई सन् २०३० सम्ममा हासिल गर्ने गरी विश्वव्यापी रूपमा जारी गरिएको दिगो विकास लक्ष्यका कार्यसूचीअन्तर्गत १७ वटा लक्ष्य र २ सय ३२ वटा सूचक छन् । नेपालको वस्तुगत यथार्थ समेट्ने गरी आयोगले २ सय ४७ सूचक थप गरी ४ सय ७९ सूचक निर्धारण गरेको छ ।

१७ वटा दिगो विकास लक्ष्यलाई गरिबी र विपन्नता, आधारभूत सामाजिक सेवा, समानता समावेशिता तथा न्याय, आर्थिक वृद्धि, रोजगारी, उपभोग र वातावरण तथा जलवायु परिवर्तनजस्ता विकास एजेन्डामा वर्गीकरण गरिएको छ । दिगो विकास लक्ष्य हासिलका लागि चौधौं योजनादेखि दिगो विकास लक्ष्यको आन्तरिकीकरणलाई अघि बढाइएको आयोगले जनाएको छ । पन्ध्रौं योजनामा दिगो विकास लक्ष्यका सूचकलाई आन्तरिकीकरण गरिएको आयोगको भनाइ छ । मध्यकालीन खर्च संरचना २०७६र७७ देखि २०७८र७९ मा पनि दिगो विकास लक्ष्यलाई समेटिएको आयोगले बताएको छ ।कान्तिपुर दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया