दीपिकाको पहिरनको चुलियो चर्चा

बिजनेसपाटी १६ कार्तिक
सञ्जय लीला भन्सालीको चलचित्र पद्मावतीमा रानी पद्मावतीको भूमिका निर्वाह गर्ने अभिनेत्री दीपिका पादुकोण भन्दा उनले चलचित्रमा लगाएको पहिरनको चर्चा चुलिएको छ । रानीको वेशभूषामा दीपिका आकर्षक तथा सुन्दर देखिएकी छिन् ।
रमाइलो कुरा के छ दीपिकाले लगाएका शाही पहिरनहरू अत्यन्त गर्‍हौं छन् । चलचित्रमा दीपिकाले लगाएका हरेक पहिरन करिब २० लाख भारुका छन् भने प्रत्येकको वजन ३० केजीभन्दा बढी छ । छायांकनका क्रममा दीपिकालाई तयार हुन नै कम्तीमा तीन घण्टा लागेको बताइन्छ ।

चलचित्रमा दीपिकाका पहिरन तयार पार्ने डिजाइनरहरू त्यति गर्‍हौं पहिरन लगाएर दीपिकाले कसरी सहजै अभिनय गर्न सकिन भन्ने कुराले समेत आश्चर्यमा परेका थिए । ती पहिरन डिजाइनर जोडी रिम्पल तथा हरप्रित नरुलाले तयार पारेका हुन् ।

ती पहिरन लगाएर दीपिका प्रत्येक दिन १२ देखि १४ घण्टासम्म छायांकनमा व्यस्त हुन्थिन् । यो चलचित्रको छायांकन १ सय दिनसम्म चलेको थियो । चलचित्र पद्मावती मंसिर १५ गते प्रदर्शनमा आउँदैछ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया