दुईवटा बाह्रसिङ्गेलाई चितवन निकुञ्जमा छाडियो

काठमाडौँ १४ बैशाख

रत्ननगर (चितवन)-शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुईवटा बाह्रसिङ्गेलाई आज बिहान चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ । आज बिहान चितवन निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पदमपुर ब्लकमा ल्याएर छाडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । “राति २ बजे ल्याइपु¥याइयो, आज बिहान मात्रै छाडियो”, कँडेलले भन्नुभयो, “अर्ना राखिएको क्षेत्रमै छाडिएको छ ।”सरकारी निर्णयअनुसार वंश संरक्षण र विस्तारका लागि चितवन निकुञ्जमा यसरी पहिलो चरणमा दुईवटा पोथी बाह्रसिङ्गे ल्याइएको हो । अझै २३ वटा ल्याइने निकुञ्जले जनाएको छ । चितवनबाट शुक्लाफाँटा पुगेका प्राविधिक टोलीले बुधबार बाह्रसिङ्गेलाई जालमा पारेर समाएको थियो । निश्चित क्षेत्रमा विशेष प्रकारको जाल (खाबर) बिच्छ्याइएको र जालमा परेपछि लठ्याउने औषधि दिएर नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

निर्वाचनका लागि कर्मचारी नखटाउँदासम्म बाह्रसिङ्गे ल्याउने काम जारी रहने चितवन निकुञ्जले जनाएको छ । विसं २०७१ को सरकारी निर्णयअनुसार चितवनमा पाँच भालेसहित २५ बाह्रसिङ्गे ल्याइनेछ ।यसअघि कोसीटप्पु र चिडियाघरबाट गरी १५ वटा अर्ना चितवन निकुञ्जमा ल्याइसकिएको छ । बाह्रसिङ्गे नियन्त्रणमा लिन चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरेको नेतृत्वमा बर्दिया र शुक्लाफाँटाका कर्मचारी तथा प्राविधिक गरी ३० जनाको टोली खटिएको छ ।चितवन राष्ट्रिय निकुञ्जमा सन् १९६० को दशकमा अर्ना रहेको इतिहास भएपनि निकुञ्ज स्थापनापछि यहाँ बाह्रसिङ्गे र अर्ना नभएको निकुञ्जका पूर्वसंरक्षण अधिकृत रामपृत यादव बताउनुहुन्छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया