देउवा र प्रचण्डलाई ओलीका चार प्रश्न

काठमाडौं ४ श्रावण

प्रधानमन्त्री केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सोमबार छलफल गरेका छन् । अविश्वास प्रस्ताव, नयाँ सरकार गठनका संवैधानिक जटिलतालगायत विषयमा शीर्ष नेताबीच छलफल भएको छ । बालुवाटारमा करिब एक घन्टा चलेको छलफलमा कुनै सहमति बनेन । तर, सदनमा अविश्वास प्रस्तावमाथि छलफल गर्ने समय बाँकी रहेकाले यसबीचमा सहमति प्रयास गर्ने भन्दै नेताहरू उठेका थिए । छलफलमा ओलीले चार विषय उठाएका थिए :

राजीनामा कि अविश्वास प्रस्ताव ?

प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग राजीनामा र अविश्वास प्रस्तावबारे जिज्ञासा राखेका थिए । ‘तपाईंहरूले मेरो राजीनामा मागेको हो कि अविश्वासको प्रस्ताव दर्ता गराएको हो ? मैले बुझेको छैन, यी दुवै एकैपटक जान सक्दैनन्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले भने, ‘राजीनामा समझदारीमा हुने कुरा हो, जबर्जस्तीमा हुँदैन । अविश्वास भनेको कुरा बिग्रेको वेला गर्ने कुरा हो । दुईमध्ये तपार्इंहरूको बाटो कुन हो ?’

संविधान संशोधन गर्न तयार छौँ

प्रधानमन्त्री ओलीले पहिले संविधान संशोधनमार्फत नयाँ सरकारको बाटो खोल्नुपर्ने प्रस्ताव गरेका छन् । सरकार संशोधनमा जान तयार रहेको, तर त्यसअघि मुख्य दलबीच समझदारी बन्नुपर्ने उनले बताएका थिए । बैठकमा उनले भने, ‘संविधानमा खाल्टाखुल्टी छन् भने त्यसलाई पुर्न पनि सरकार तयार छ । तर, त्यसमा समझदारीमा जानुपर्ने हुन्छ ।’

खेलमा लाग्ने चिन्ता नलिए हुन्छ

आफू सहमतिका लागि बाधक नबन्ने र संसद् विघटनको बाटोमा पनि नजाने ओलीले प्रस्ट पारेका छन् । उनको भनाइ थियो, ‘बाधक बनेर राजनीतिक खेल म खेल्दिनँ, यसमा कसैले चिन्ता नलिए हुन्छ । तपार्इंहरूले अप्ठ्यारोमा देशलाई पठाउन लाग्नुभएको हो भने त्यस्तो स्थितिमा हामीले के भन्न सक्छौँ र ?’

सभामुखप्रति असन्तुष्टि

सभामुखले अर्थ विधेयक पारित गराउनेतिर भन्दा अविश्वास प्रस्तावलाई अगाडि बढाउने गरी कार्यसूची तोकेर समझदारी भत्काउन खोजेको प्रधानमन्त्री ओलीले आरोप लगाए । ६ साउनमा संसद् बैठकमा अविश्वास प्रस्तावमाथि छलफल गराउने कार्यसूची छ । एमालेले यसलाई सभामुखको पूर्वाग्रही निर्णय भएको आरोप लगाउँदै आएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया