दोर्दी खोला जलविद्युतले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै

काठमाडौं, फागुन २५, २०८१ । आगामी चैत १९ गतेदेखि दोर्दी खोला जलविद्युत लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
यस दोर्दीखोला जलविद्युत लिमिटेडले अहिलेको कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ ।
हकप्रद शेयर निष्काशनका लागि यस कम्पनीले फागुन १५ गते नै बुकक्लोज गरिसकेको छ । यस अनुसार फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीका अनुसार हकप्रद शेयरमा २०८२, बैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ।
त्यसैगरी हकप्रद शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
त्यस्तै इच्छुक शेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।यसबाट संकलित रकम कम्पनीले सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र महालक्ष्मी विकास बैंकमा आंशिक भुक्तानी गर्न प्रयोग हुनेछ ।
कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्नेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया