दोस्रो हिमालय कला महोत्सव सम्पन्न
काठमाडौँ, ३० भदौ
काष्ठमण्डप आर्टस समूहले नेपाल कला परिषद्मा यही भदौ २६ गतेदेखि ३० गतेसम्म सञ्चालन गरेको दोस्रो हिमालय कला महोत्सवमा करीब रु १५ लाख बराबरका विभिन्न चित्र बिक्री भएका छन् । विभिन्न ११ चित्र बिक्री भएका सो प्रदर्शनीमा १३५ कलाकारका करीब २०० सिर्जना प्रदर्शनीमा राखिएको थियो ।
वरिष्ठ कलाकार शशीविक्रम शाह, मदन चित्रकार, कृष्ण मानन्धर, शशीकला तिवारी, वर्षगोपाल वैद्यलगायतले सिर्जना गरेका विभिन्न चित्रसमेत प्रदर्शनीमा राखिएको थियो ।
समसामयिक विषयवस्तुका विभिन्न चित्रका साथै बौद्ध धर्मावलम्बीले करुणाका प्रतीक मान्ने अवलोकितेश्वरलाई थान्का तथा पौभा चित्रमा प्रस्तुत गरिएको छ । महायानी बौद्ध सम्प्रदायले अवलोकितेश्वरलाई बोधिसत्वका रुपमा सम्मान गर्ने गर्दछन् ।
सुन्दर, शान्त र सौम्य स्वभावका ती चित्रले आनन्दको अनुभूति दिन्छ । प्रदर्शनीमा विभिन्न विधाका फोटोग्राफी, ‘उड तथा इचिङ प्रिन्ट’सम्बन्धी सिर्जनासमेत समावेश गरिएको थियो ।
कार्यक्रम आयोजक संस्थाका संयोजक प्रमिला बज्राचार्यले समाज परिर्वतनका लागि सशक्त माध्यम कला भएको बताउँदै यसको संरक्षण तथा प्रवद्र्धनका लागि प्रदर्शनी महत्वपूर्ण रहेको बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया