धनकुटामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो ( अपडेट )
धनकुटा १३ श्रावण
धनकुटाको सिधुवामा आज भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ। ७ जनाको घटनास्थलमा नै र ६ जनाको धरानकाे बीपी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
अहिले दुर्घटनामा घाइते भएका २९ जनाको अस्पतालमा उपचार भइरहेको छ । संखुवासभाबाट धरानका लागि प्रस्थान गरेको बा २ ख ७३६६ नम्बरको बस सिधुवा दुर्घटनाग्रस्त भएको जिल्ला ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए। दुर्घटनामा परी माओवादी केन्द्रका नेता एवम् पूर्वअर्थराज्य मन्त्री हरिराज खेवाको मृत्यु भएको पुष्टि भएको छ ।
हरिराज खेवा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा अर्थ राज्यमन्त्री भएका थिए । बस दुर्घटनामा मृत्यु भएकामध्ये खेवासहित ३ जनाको मात्रै सनाखत हुनसकेको छ । मृत्यु हुनेमा धरानको वेदप्रकाश अग्रवाल र परेवादिन–४ को तारा बस्नेत रहेका छन् ।
दुर्घटनामा परी दर्जनौँ यात्रु घाइते भएका छन् भने घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया