धरानमा डेङ्गुपीडित थपिँदै

काठमाडौँ २ मंसिर

इटहरी-डेङ्गुपीडित ३५ जनाको उपचार पछि धरान–१६ का अरु दुईजना पीडित थपिएका छन् ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अघिल्लो साता धरान–१६ की १३ वर्षीया जिना राईमा डेङ्गुको उपचारलगत्तै सोही वडाका १८ वर्षीय सवीन प्याकुरेल र ४९ वर्षीय भीम प्याकुरेल पनि डेङ्गुपीडित भई बुधबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना भएका छन् ।

झापाको दमक नगरपालिका र आसपासका क्षेत्रमा देखिएको डेङ्गु पछिल्लो समयमा आएर धरानमा पनि देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले धरानमा त्यससम्बन्धी छलफल समेत चलाएको छ ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक उपचार कक्षमा दैनिक ४ देखि ५ जना मानिस डेङ्गुपीडित भई उपचारका लागि आउने गरेको डा सुनिल जिरेलले जानकारी दिएका छन्। प्रतिष्ठानमा उपचारार्थ आएका सबै डेङ्गुपीडित स्वस्थ भएर जाने गरेको पनि उनले जानकारी दिए ।

सफा पानीमा बस्न रुचाउने एक प्रकारको लामखुट्टेको टोकाइबाट डेङ्गु रोग सर्ने चिकित्सकले जानकारी दिँदै धेरै लामो समयसम्म घर वरपर बाल्टी वा अन्य भाँडावर्तन र खाल्डोमा सफा पानी जम्न नदिनु नै यस रोगको सङ्क्रमणबाट जोगिन सकिने प्रमुख उपाय रहेको बताएका छन् । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया