धितोपत्रसम्बन्धी विधेयक पारित गरौंः अर्थमन्त्री पौडेल

काठमाडौं, २० फागुन, २०८१ । अर्थमन्त्री विष्णुप्रसाद पौडेले प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको आजको बैठकमा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० (बाफिया) र धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई संसदबाट चाँडो पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता रहेको बताए ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको आजको बैठकमा बाफिया र धितोपत्रसम्बन्धी विधेयकलाई यथाशक्य चाँडो टुङ्ग्याएर प्रतिनिधिसभामा छलफलका लागि लगिनुपर्नेमा जोड दिए ।

त्यस्तै मन्त्री पौडेलले भन्सार विधेयकसँगै वाफिया र धितोपत्रसम्बन्धी विधेयकमाथिको छलफल चाँडो सकेर चैत मसान्तभित्र समितिको प्रतिवेदनसहित प्रतिनिधिसभामा छलफलका लागि लगिनुपर्ने बताए ।

त्यसैगरी अहिले जनस्तरबाट कानुन निर्माण र विधि निर्माणको काम सुस्त भयो भन्ने आलोचना आउने गरेकाले त्यसतर्फ यसतर्फ सरकारको ध्यानाकर्ष भएको समेत बताए । समिति र सदनको प्रभावकारिता माथि चर्को आलोचना हुने गरेको प्रसंगलाई जोड्दै अर्थमन्त्री पौडेलले राष्ट्रिय आवश्यकता हेरेर बढी प्राथमिकताका कानुन निर्माणमा शीघ्रता दिनुपर्ने बताए ।

आजको अर्थ समितिको बैठकमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि परेका संशोधन माथि छलफल भएको छ । व्यापार सहजीकरणका लागि भन्सार प्रशासन चुस्त बनाउने, भन्सार जाँचपासका क्रममा प्रक्रियागत झन्झट हटाउनुपर्ने, वस्तुको गुणस्तर परीक्षणका लागि पर्याप्त पूर्वाधार तयार पारिनुपर्नेलगायतका विषयमा सांसदहरुका संशोधन आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया