धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं १५ साउन २०८० ।
चालु आर्थिक वर्षका लागि नेपाल धितोपत्र बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न यस सम्बन्धी कानुनहरुमा आवश्यक संशोधन तथा परिमार्जन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी धितोपत्र व्यवसायीको लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गरिने, साना तथा मझौला कम्पनीको धितोपत्र निस्कासन तथा कारोबार सम्बन्धी नियमावली तयार गरी कार्यान्वयनमा ल्याइने नीति तथा कार्यत्रममा लेखिएको छ ।

नीति तथा कार्यक्रममा ‘वस्तु विनिमय बजार सम्बन्धी वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फर्स्योट व्यवसाय, वेयर हाउस लगायतका सम्बन्धमा नीति नियम तथा निर्देशिका तर्जुमा गरिनेछ’ भनिएको छ ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी महत्वपूर्ण मौजुदा तथ्यांक एवम् जानकारीको समुचित अभिलेख व्यवस्थापन तथा बोर्डमा प्रयोग भइरहेका र भविष्यमा प्रयोग हुने प्रणालीको व्यवस्थापन गर्न बोर्डको आफ्नै डाटा सेन्टर स्थापना गरिने उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया