धितोपत्र बोर्ड : कम्पनीहरुको ‘कोड अफ कन्डक’ बनाउँदा निम्न कुराहरु समेटियोस् ।

नयन बास्तोला

धितोपत्र बोर्डले धेरै नियम विनियमहरु बनाउँदै आएको छ । धितोपत्र बोर्डकै अनुसार केही दिनमै नेप्सेमा लिस्टिङ भएका कम्पनीहरुलाई ‘कोड अफ कन्डक’ लागू गर्ने तयारी हुदैछ । जो सुन्नमा आएको हुँदा निम्न लिखित कुराहरु अनिवार्य र कडाइका साथ लागू हुनेगरी नियमहरु बनाइयोस् । जसले उनीहरुको सर्बसाधारण लगानिकर्ता प्रति उत्तरदायित्व बढ्छ भने सर्बसाधारणलाई राहत पुग्नेछ ।

उदाहरण हेर्नुस् ः पिआइसीएल भन्ने एउटा कम्पनीले २०७२ र ०७३ सालको साधारणसभाबाट हकप्रद शेयर दिने घोषणा गरेको तर अहिलेसम्म दिएको छैन । अब फेरि बोनस घोषणा गरि बूक क्लोजको सुचना निकालिएको छ । यहाँ त्यो पहिलाको राइट शेयर पाउँछु भन्ने लगानिकर्ता कति धेरै मर्कामा परे त्यो कसको कारणले हो ? किन धितोपत्र बोर्डले बुझ्दैन ? कतै मिलेमतो त छैन ? सोच्ने बेला आएको छ ।
अर्को उदाहरण पीसले एफपिओ निकाल्ने भनेर उसको साधारणसभाबाट पारित गरेको दुई बर्ष भयो । तर अहिलेसम्म दिने सुरसार नै छैन । किन त्यो कम्पनी माथी कुनै कार्बाही हुदैन ? त्यो कम्पनीलाई के कस्तो हुन्छ । नाफा फाइदा हिसाब गरि खरिद बिक्रि गर्ने लगानिकर्तालाई कति धोका भयो ? के यस्ता समस्याहरुको निराकरण धितोपत्रले गर्न पर्दैन ?
त्यस्तै युनाइटेड इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई बोनस र राइट शेयर घोषणा गर्यो । त्यसले मार्केटमा असर गर्ने नै भयो । तर फेरि उक्त घोषणालाई स्थगित गरेको सूचना जारी गर्यो । तर किन र के कारणवश स्थगित गर्यो भनेर सूचना दिएन । यसलाई कसरी बुझ्ने ? यो कुरा त धितोपत्रबोर्डले हेरि राखेको छ नि । त्यही समाचारलाई एक अनलाइनले के–के खराब समाचार लेखि राखेको छ, त्यसको सत्य तथ्य धितोपत्रबोर्डले गर्ने हो नि । कि यस्ता कुराहरुको निगरानी गर्ने सामथ्र्थ छैन धितोपत्र बोर्डसँग ?

त्यस्तै एभरेस्ट बैंक, सिद्दार्थ इन्स्योरेन्स, लक्ष्मी बैंक, एनआइसि बैंकले जारी गरेको राइट सेयर र बोनस सेयर बुक क्लोज भएको तीन महिना भन्दा बढि भैसकेको छ । अझै पनि उनिहरु बोनस र राइट सेयर नेप्सेमा लिस्टिङ गराउँदैनन् । के यहि हो डिम्याट को अर्थ ? के यहि हो अनलाइन सिस्टमको फाइदा ? सिडियस भन्छ आइपियो त भोलिपल्ट बाँडफाँड गर्छु तर कम्पनीलाई किन यति लामो समय लाग्यो ? किन ढिला गर्छन् कतै त्यँहा खेल त भएको छैन भनी धितोपत्र बोर्ड कडा हुदैन । सङका गर्ने ठाउँ धेरै छन् ।

उदाहरणकै लागि अक्सन सेयरलाई हेरौ । जनताले सूचना नपाएर वा तोकिएको स्थानमा सेयर भर्न असमर्थ भएर राइट सेयर भर्न छोडिएका सेयरलाई अक्सन मार्फत बिक्रि गरिन्छ । तर त्यँहा एउटा फर्म जुन फोटोकपी हो, लाई एक सय लिइन्छ । त्यसबाट लाखौं पैसा क्यापिटल मार्केटहरुले उठाएका हुन्छ्न । तर त्यो अक्सनलाई यति लापरवार्ही गरि सञ्चालन गर्छन् । यस्तो लाग्छ, अन्तिम अन्तिम तिर पावर र पहुँच हुनेहरुले सिलबन्दी अदल–बदल गर्न केही गाह्रो हुन्न । यस्तो हुँदा मर्कामा को पर्यो त ? सर्बसाधारण नै हो । अनि फेरि अनिवार्य आस्वा भनेको छ, क्यापिटल मार्केटले दुइ चार दिन भए पनि जनताको पैसा राखी ब्याज खाने मनसाय राखी चेक बनाउँछ । एउटा चेक दिन दुइ जना राखि अनेक खालका दुख दिन्छन् । किन उनिहरु जनताप्रति उत्तरदायी हुदैनन ।

सेयर मार्केटलाई धेरै भन्दा धेरै असर गर्ने महत्वपुर्ण कुरा कम्पनीहरुको ब्यालेन्ससिट हो । यसमा पनि धेरै चलखेल हुन्छ, कतै झुट्टा विवरण राखेर होस् कि कतै समयमा विवरण प्रकाशित नगरेर । यति संबेदनशिल कुरामा धितोपत्र बोर्डले कडाइ गर्नैपर्छ ?

यस्ता कुराहरुले गर्दा तल उल्लेखित कुराहरुको बारेमा गम्भीरताका साथ लिएर ‘कोड अफ कन्डक’ बनाउन पंक्तिकारको अनुरोध छ ।

१) फस्ट माइक्रोफाइनान्स कम्पनीले त्रैमासिक सकिएको भोलिपल्ट आफ्नो तीन महिनाको नाफा घाटाको विवरण प्रकाशित गर्नसक्छ भने अरु कम्पनीले किन नसक्ने ? यो कुरालाई १५ दिनको समय सिमामा झारी अनिवार्य गरियोस् । त्यस्तै इन्स्योरेन्सहरुलाई पनि १ महिनाको समय सिमा तोकियोस् ।

२ कुनैपनि कम्पनीले एक पटक गरेको घोषणा फेरबद्ल गर्न नसक्ने बनाइयोस् ।

३ साधारणसभाबाट पारित भएपछिको दुई महिना भित्रमा राइट सेयरको आह्वान पत्र निकाल्ने ब्यवस्था गरियोस् । जसले सेयर लगानिकर्तालाई कुनै पनि कम्पनीमाथी सङका नहोस् त्यसका साथै आफ्नो सम्पतिको ब्यवस्थापन गर्न सजिलो होस् ।

४ बोनस घोषणा गरि बुक क्लोज भएपछि बढिमा १५ दिन भित्रमा सम्बन्धित लगानीकर्ताको खातामा पठाउने ब्यवस्था गरियोस् । यो सम्भव पनि छ, किनकि अहिले सबै काम अनलाइनबाट हुन्छ । तीन दिनमा नाम सारी सकिन्छ भनेर धितोपत्र बोडका सम्मानित अध्यक्षज्युले नै विभिन्न ठाउँमा भन्नू भएको छ ।
५ एफपिओलाई घोषणा गरेको निश्चित दिन भित्रमा जारी गर्ने ब्यवस्था मिलाइयोस् ।

६ अक्सन सेयरमा लिने फर्मको लागत कमि गर्दै त्यसमा भएको बिकृतिलाई हटाउनको लागि आस्वा अनिवार्य गरियोस् । जसले गर्दा सबै लगानिकर्ताको पहुँच पुग्नेछ ।

७ आर्थिक पत्रकारितालाई सेयर बजार सम्बन्धि सामग्री सम्प्रेषण गर्दा स्वतन्त्र एवं निस्पक्ष भइ कसैप्रति आस्था नराखी सत्य तथ्य समाचार सम्प्रेषण गर्नको लागि प्रेरित गरियोस् । कोहि कतैबाट त्यस्तो बजारलाई नै असर गर्ने झुटा समाचार लेखी आतङिकत बनाइएको रहेछ भने प्रेस काउन्सिलसँग समन्वय गरि कावार्हीको दायरामा ल्याइने छ भन्ने केही नियम बनाइयोस् ।

( शेयर बजारका साना लगानीकर्ता बास्तोला बिजनेसपाटी डटकमका नियमित लेखक हुन् )
प्रकासित मिति २०७४–७–९

फेसबुकबाट तपाईको प्रतिक्रिया