नक्कली कम्पनीमार्फत बैङ्कको सहयोगमा सम्पत्ति शुद्धीकरण भइरहेको खुलासा

काठमाडौँ ३० भदौ ।

अवैध गतिविधिमा संलग्न गिरोहले बैङ्कमार्फत नै करोडौं रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेर विदेश लैजाने गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।

प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसबारे छानविन गरेको हो । नक्कली कम्पनी खडा गरी २६ करोड रुपैयाँ दुईवटा बैङ्कमार्फत भारत पुर्याइएको एक घटनाको अनुसन्धान सकेर विभागले मुद्दा दायर गर्ने तयारी गरेको छ ।

अवैध गतिविधिमा संलग्न एक भारतीय नागरिकले एभरेष्ट बैङ्क र नेपाल एसबिआई बैङ्कबाट २६ करोड रुपैयाँ अवैध रुपमा भारत पुर्याएका हुन् । ती व्यापारीले बैङ्कका कर्मचारीलाई समेत प्रभावमा पारी सम्पत्ति शुद्धीकरण र अवैध कारोबार गरेको विभागले जनाएको छ । टेलेक्स ट्रान्सफर (टिटी) मार्फत त्यसरी रकम भारत पुर्याइएको हो । नेपालमा आफ्नो ठूलो कम्पनी भएको कागज देखाएर उनले पटक–पटक गरेर भारतीय बैङ्कमा रहेको आफ्नो खातामा पैसा लगेका हुन् । अनुसन्धानको क्रममा उनको नेपालमा कुनै पनि कम्पनी देखिएको छैन । यो खबर नवराज मैनालीले नयाँपत्रिका दैनिकमा लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया