नयाँ शक्तिः नयाँ कालखण्डको माग ( विचार )

डा बाबुराम भट्टराई 
देशका विभिन्न भू–भागमा भएका कार्यक्रममा सहभागी भएर फर्कंदा र ती ठाउँमा जनसमुदायको उत्साहजनक सहभागिता देख्दा जनताले आर्थिक विकास, समृद्धि र परिवर्तन चाहेका छन् भन्ने कुरा स्पष्ट छ। पछिल्लो समय नयाँ शक्ति एउटा बिम्ब बनेको छ। सायद त्यसैको प्रभावले होला पुरानै सोच भएका पुरानो शक्तिले पनि आफूलाई नयाँ शक्ति भन्न तँछाड मछाड गरिरहेका छन्। यसले नयाँ शक्तिको औचित्य र आवश्यकता पुष्टि भएको छ र सबै मान्छेहरू नयाँ शक्ति बन्ने होडबाजीमा छन्। यो शुभ संकेत हो। यसलाई हेर्दा हामीले ठीक समयमा नयाँ शक्तिको परिकल्पना ग¥यौं भन्ने लाग्छ। प्रकृतिको नियम पनि जन्मने, हुर्कने र मर्ने हुन्छ। मान्छेमा जस्तै सामाजिक जीवनमा पनि यो नियम लागू हुन्छ, आन्दोलनहरू जन्मन्छन्, हुर्कन्छन् र समय आएपछि मर्छन्। त्यसैले अब नयाँ युगमा नयाँ शक्ति आवश्यक छ भन्ने बोध सबैलाई भएको छ।
अहिलेको अवस्थामा नयाँ शक्तिको आवश्यकता किन ? भन्ने प्रश्न पनि उठ्न सक्छ। अनि अर्को प्रश्न पनि उठ्न सक्छ – तपाईंहरू पुरानै व्यक्ति, अझ मूर्त रूपमा भन्दा बाबुराम भट्टराई चालिस वर्ष एउटा आन्दोलनमा सक्रिय व्यक्ति, विगतमा कुनै पार्टीबाट प्रधानमन्त्री बनेको व्यक्ति कसरी नयाँ हुन्छ? यसमा सबभन्दा पहिला त स्पष्ट हुनुपर्ने कुरा के छ भने व्यक्ति नयाँ भन्दा पनि सोचाई नयाँ हो। मैले भन्दै आएको छु हामीले निर्वाचन आयोगमा दर्ता भएका १८० वटा पार्टीमा एउटा नयाँ पार्टी थपेर १८१औं पार्टी बनाउन खोजेका होइनौं। ६० वर्षको उमेरमा विद्यमान राजनीतिक दलहरूको सूचीमा एउटा नाम थप्ने मेरो चाहना छैन, बरु मेरो चाहना त नयाँ युगमा नयाँ सोच सहितको नयाँ राजनीतिक शक्ति चाहिन्छ भन्ने हो। अहिले हामी राजनीतिक आन्दोलनको कुन चरणमा छौं भन्नु भन्दा अगाडि अलिकति पृष्ठभूमितर्फ जाऔं। अहिले नेपाल भन्ने जुन भू–भाग छ, यो सन् १८१५/१६को सुगौली सन्धिले सीमावद्ध गरेको मान्नुपर्ने हुन्छ। नेपालको आधुनिक इतिहास तीन वटा युगमा विभाजित गर्न सकिन्छ। नेपालको भू–भागमा चार हजार वर्ष पहिलादेखि आधुनिक सभ्यता सुरु भएपछि मान्छेको बसोबास भएको पाइन्छ। यसबीचमा यसको सिमाना कहिले आसामदेखि काश्मिरसम्म, हिमालदेखि गंगासम्म थियो। कहिले यो भू–भाग ५०/६० वटा राज्यमा विभाजित थियो।
पुरानो कुरा छाडेर आधुनिक इतिहासको कुरा गर्ने हो भने पृथ्वीनारायण शाहदेखि भीमसेन थापाको समयसम्मको असी वर्ष भौगोलिक रुपले राज्य निर्माणको चरण रह्यो। दोस्रो चरण वि.सं. १९९० को आसपासदेखि २००७ साल, २०४६ साल, २०६२/०६३ र २०७२ सम्मको समयलाई लोकतान्त्रिक अधिकार प्राप्तिको आन्दोलनको समय वा कालखण्ड भन्न सकिन्छ। पहिलो कालखण्डमा राज्य बन्न भू–गोल चाहिने थियो, त्यो भयो। दोस्रो कालखण्ड जनता राजनीतिक अधिकारसम्पन्न बन्ने समय रह्यो। अबको तेस्रो चरणको कार्यभार पहिलो चरणमा बनेको राष्ट्र र दोस्रो चरणमा अधिकारसम्पन्न जनतालाई आर्थिक रूपले समृद्ध बनाउने हो। यही कार्यभार पूरा गर्न हामीले नयाँ राजनीतिक शक्ति चाहिन्छ भनेका हौं।
त्यसैले नयाँ राजनीतिक शक्ति नेपालको राजनीतिक र सामाजिक आन्दोलनको बस्तुस्थितिको माग हो। प्रत्येक कालखण्डले नयाँ सोंच सहितको नयाँ शक्ति माग गर्दछ। किनकि प्रत्येक कालखण्डका आफ्नै विशेषता हुन्छन्, त्यो विशेषता अनुसारको राजनीतिक शक्ति चाहिन्छ। अहिलेको भूगोल भएको नेपाल निर्माण गर्ने पहिलो कालखण्डमा लडाई लड्ने सिपाही र कमाण्ड गर्ने निरंकुश राजा चाहिन्थ्यो। दोस्रो कालखण्डमा अधिकार प्राप्तिका निम्ति जेलनेल खप्न तयार, निरन्तर आन्दोलनमा लाग्ने शक्ति चाहिन्थ्यो। प्रजापरिषद, कांग्रेस, एमाले, एमाओवादी र मधेसवादी तथा जनजाति दलहरूले त्यो आवश्यकता पूरा गरे। त्यसको हामीले सम्मान गर्नुपर्दछ। अब तेस्रो चरण भनेको आर्थिक विकास र समृद्धिको चरण हो, यसको निम्ति त्यही खालको भिजन र सोच भएको नेता, कार्यकर्ता र राजनीतिक शक्ति चाहिन्छ। जेलनेल गएको, भूमिगत भएको भन्ने भरमा मात्रै यो आवश्यकता पूरा हुन सक्दैन। त्यसैले अव नयाँ भिजन र क्षमता भएको नेता र पार्टीको आवश्यकता छ। प्रविधि बुझ्ने, अर्थतन्त्रका नियम बुझ्ने, सुशासन अपनाउने व्यक्तिहरू अबको राजनीतिले माग गर्छ। यस सन्दर्भमा नयाँ शक्ति जन्मिएको हो।
कतिपयले नयाँ शक्तिलाई माओवादीकै एउटा हिस्सा मान्न सक्छन्। मैले पनि त्यस्तो भन्ने गरेको सुनेको छु। तर यो माओवादीकै एउटा नयाँ हिस्सा होइन। जसरी लार्भा, झुसिलकिरा हुँदै एउटा पुतली बन्छ, माओवादी झुसिलकिराको चरणमा छ, हामी पुतली बनिसक्यौं। अब पुनः झुसिलकिरा बन्ने कुरा हुँदैन। फेरि माओवादीमै फर्कन्छ कि भन्नु पुतली र झुसिलकिरा बीचको अन्तर बुझ्न नसक्नु हो। पुतली गुणात्मक रुपले नै भिन्न चीज हो। तर हामी लार्भा र झुसिलकिरा हुँदै पुतली बनेकोचाहिँ स्वीकार्नु पर्दछ। त्यसैले पुरानो रुपलाई सराप्ने वा पश्चात्ताप गर्ने कुनै काम हामीले गर्दैनौं। झुसिलकिरा उस्तै–उस्तै हुन्छन्, पुतली रंगीबिरंगी हुन्छन्। त्यही भएर नयाँ शक्ति पनि रंगीचंगी देखिन सक्छ।
हामीले विचार, कार्यक्रम र संगठनात्मक ढाँचाको बारेमा अहिले प्रारम्भिक छलफल गरिरहेका छांै। यही जेठको ३०, ३१ र ३२ गते पार्टी स्थापना राष्ट्रिय भेला गर्दैछौं। हामीले पाँच ‘स’लाई अहिलेको अन्तरविरोधको समाधानको रुपमा संश्लेषण गर्दैछौं।
पहिलो, समतामूलक समृद्धि। अहिले हामी पूरै देश निरपेक्ष गरीबीको अवस्थामा छौं। अहिले प्रतिव्यक्ति आय वार्षिक सात सय डलर छ। त्यो भनेको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गरीबीको रेखामुनी हो। यसलाई बढाएर कम्तिमा सात हजार डलर बनाउनु पर्दछ। त्यसो ग¥यौं भने मात्र संविधानले प्रदान गरेका सामाजिक सुरक्षा, मौलिक अधिकार उपभोग गर्ने अवस्था बन्छ। राज्यको ढुकुटीमा पैसा नै छैन भने संविधानमा अधिकार लेखिए पनि व्यवहारमा लागू हुदैन। निःशुल्क स्वास्थ्य, शिक्षा, रोजगारीको सुनिश्चिता जस्ता कुराहरू संविधानमा त छन् तर राज्यको ढुकुटी नै रित्तो छ भने कसरी यी अधिकार लागू गर्ने ? हामी प्राकृतिक स्रोत–साधनका हिसाबले विश्वका दशवटा धनी देशभित्र पर्छौं। यदि सही नीति भयो भने हाम्रै पालामा समृद्धि सम्भव छ। अबको निकास, आर्थिक विकास नै हो।
अर्को ‘स’ हो, समानुपातिक/समावेशी/सहभागितामूलक लोकतन्त्र। राज्यका निकायहरू र पार्टीमा मुख्य क्लस्टरहरू मधेसी–थारु, आदिवासी–जनजाति र खस–आर्य तथा महिला, दलित, मुस्लिम, अल्पसंख्यक तथा पछाडि पारिएका समुदायहरूको समानुपातिक, समावेशी सहभागिता हुनुपर्छ। कार्यकारिणीमा प्रत्यक्ष निर्वाचित भएर जानुपर्ने र व्यवस्थापिकामा पूर्ण समानुपातिकताको पक्षमा पनि हामी छौं। निर्वाचित प्रतिनिधिले गलत गरे फिर्ता बोलाउने अधिकार सहित एक व्यक्ति, एक कार्यकारी पद र एक कार्यकारी पद, दुई कार्यकालको अवधारणा सहित अगाडि बढ्छौं। त्यसमा पनि युवा, वयस्क र पाकाहरूको उचित प्रतिनिधित्व हुनेछ।
तेस्रो ‘स’ सुशासन/सदाचार हो। नयाँ शक्तिमा भ्रष्टाचारको अभियोग लागेको व्यक्ति स्वतः निलम्बन र भ्रष्टाचार पुष्टि भएमा निष्कासित हुने व्यवस्था गर्छौं। राज्यका सबै निकायलाई भ्रष्टाचारमुक्त बनाउनेछौं।
चौथो ‘स’ स्वाधीनता/सार्वभौमसत्ता हो। दुई विशाल अर्थतन्त्रको बीचमा रहेको देशलाई गतिशील पुलको रुपमा विकास गर्ने, सबै देशहरूसँग समानताको सिद्धान्तअनुरुप सम्बन्ध राख्नेछौं। देशभित्र आन्तरिक राष्ट्रियताहरूबीचको एकता, समृद्ध र अन्तरनिर्भर अर्थतन्त्रको विकास गरी राष्ट्रिय स्वाधिनताको रक्षा गर्नेछौं। हामी प्रगतिशील राष्ट्रवादको पक्षमा छौं।
पाँचौं ‘स’ हो, समुन्नत समाजवाद। अब राज्य नियन्त्रित समाजवादको स्थापना पनि हुन सक्दैन र पूँजीवादले पनि धनी र गरीबबीचको खाडल ठूलो भएर असमानता बढाउँछ। त्यसैले पूँजीवादका सकारात्मक कुराहरूलाई ग्रहण गर्ने र स्रोत–साधनको वितरणमा समानता कायम गरेर सबै समृद्ध हुने समुन्नत समाजवादको दिशामा जानुपर्छ। पछिल्लो ज्ञान–विज्ञानका सकारात्मक कुराहरू ग्रहण गर्ने र कुनै पनि ज्ञान र विज्ञानलाई जड रुपमा होइन ऐतिहासिक आवश्यकताअनुसार परिस्कार गर्दै अगाडि बढ्नुपर्छ।
राष्ट्रिय भेलाबाट हामीले संगठनात्मक र बैचारिक विषयमा के गर्न खोज्दैछौं भन्ने विषयलाई छलफलमा ल्याउँछौ र सम्भवतः एक वर्षपछि सबैका सल्लाह सुझाव समेट्दै त्यसलाई पूर्णतातर्फ लैजान्छौं।
भिन्न पृष्ठभूमि र संगठन
गोरुले जोत्छ वा जोत्दैन थाहा पाउन गोरुलाई नारेर जोत्नु पर्दछ। अझ बाँझो जोत्न लगाइयो भने जोत्ने गोरु र बस्ने गोरु छुट्टिन्छ। सुरुमै नजोतिकन बस्ने गोरु र जोत्ने गोरु थाहा हुन्न। अहिले विभिन्न पृष्ठभूमिबाट साथीहरू आउनुभएको छ। सबैलाई आ–आफ्नो जिम्मा दिइएको छ। कसले कति गर्न सक्छ भन्ने त काम गरेपछि मात्रै थाहा हुन्छ। जोत्न नसक्ने गोरु आफैं थचक्क बसे जस्तै जिम्मा पूरा गर्न नसक्नेहरू आफैं बस्छन्। म पनि जोताईमा छु, अरु साथीहरू पनि जोताईमै हुनुहुन्छ।
हामीलाई लाग्ने अर्को आरोप भनेको ‘कम्युनिष्ट’ छाड्यो भन्ने हो। कम्युनिष्ट शब्द समाउने र छाड्ने भन्ने हुँदैन। यो फ्रान्सबाट आएको शब्द हो। माक्र्स युरोपमा जन्मिनु भएकोले कम्युनिजम भन्नुभयो। नेपालमा जन्मेको भए ‘रामराज्य’ भन्नु हुन्थ्यो कि ? साम्यवाद भनेको आदर्श समाजको परिकल्पना हो, जहाँ शोषण र असमानता हुँदैन। यो बाघ र बाख्राले एउटै कुवामा पानी खाने अवस्था जस्तै हो, जुन हाम्रै पालामा हुँदैन, पाँच–दश पुस्तापछि होला। त्यसको निम्ति अहिले झगडा नगरौं। स्वर्गको कल्पना राम्रो छ तर स्वर्ग मरेपछि मात्र जाने हो। त्यसको झगडामा अहिले नलागौं। हाम्रो जीवनकालमा के गर्न सकिन्छ, त्यसतर्फ सोचौं। उत्पादन वृद्धि र त्यसको समन्यायिक वितरणतर्फ ध्यान दिऊँ।
नयाँ शक्तिमा विविध प्रवृत्तिका व्यक्तिहरू हुनुहुन्छ। हामीले एउटा विधि र पद्धति बनाएर समस्याहरूको हल गर्छौं। हामी सहभागितामूलक लोकतन्त्रको पक्षमा छौं। त्यसैले हामीले सबै विचारलाई खुला प्रतिस्पर्धा गर्न दिन्छौं। सबैको सहभागिता सुनिश्चत गर्न चाहन्छौ। एउटा नेताले एउटा बिचार ल्याउने र त्यसको आलोचनालाई निषेध गर्ने पक्षमा हामी छैनौं। हामीले विविध विचार राख्न दिन्छौं, जुन विचार पारित हुन्छ, एकजुट भएर त्यसको कार्यान्वयन गर्छौं। भिन्न विचारको सम्मान र संरक्षण गर्छौं।
पार्टीमा लाग्नेहरूको आर्थिक व्यवस्थापन व्यवहारतः अर्को मुख्य कुरा हो। हिजोका दिनमा राजनीतिलाई एउटा पेशा मान्ने र राजनीतिमा लाग्नेले घरबार छाडेर हिँड्नुपर्ने अवस्था थियो। त्यो बेला पार्टीले आर्थिक व्यवस्थापन गर्नुपर्ने हुन्थ्यो। अहिले स्वयंसेवी ढंगले राजनीति गर्ने, उत्पादनमा जोडिएर आफू र आफ्नो परिवारको व्यवस्थापन गर्ने परिपाटी विकास गर्नुपर्छ। केही निश्चित व्यक्तिहरू जो पूर्णरुपले पार्टीमा खट्नुपर्ने हुन्छ, उहाँहरूको व्यवस्थापन पार्टीका सदस्यहरू र समर्थक, सहयोगीबाट तथा पार्टीबाटै उत्पादनका काम गरी त्यसबाटै व्यवस्थापन गर्छौं। अरु व्यक्तिहरू रोजगारी र उत्पादनसँग जोडिएर आफ्नो आर्थिक व्यवस्थापन गर्नुहुन्छ।
समग्रमा नयाँ शक्ति एउटा थप पार्टी मात्र नभएर नयाँ सोंच र शैली सहितको वैकल्पिक राजनीति हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया