नायिका बिनिता बरालको उपन्यास अंश

काठमाडौँ २५ असार

‘एक्सक्युज मी !’

एक्कासि कसैले बोलायो । म झस्किएँ, हिँडाइको एकाग्रता भङ्ग भयो ।
बाटो सुनसान थियो, दायाँ–बायाँ झ्याम्मिँदै गरेका चिलाउने र सिमलका रूखहरू थिए । पुस महिनाको हुस्सुले मदानपुरलाई घेरेको थियो । एक त बाटो देख्न मुस्किल थियो, त्यसमाथि अघिसम्म टाढाटाढासम्म एउटा सानो छिस्रिक्कको आवाजसमेत मैले सुनेको थिइनँ । अचानक मेरो पछाडिको आइपुग्यो ?
हरे ! बेसुरमा एकोहोरो हिँडेका बेला हरेले मलाई धेरैचोटि तर्साएको थियो, तर ऊ ‘एक्सक्युज मी’ भन्ने खालको मान्छे थिएन । फेरि आवाज पनि महिलाको जस्तो सुनिएको थियो । कुनै गाउँले महिला हो कि ? भएको भए ‘सुन्नुस् त’ भन्नुपर्ने । को होला ? आफैंलाई प्रश्न सोध्दै म पछाडि फर्कें । टक्क उभिएर पछाडि फर्कने बेलासम्म अर्को चोटि आवाज आइसकेको थियो— ‘हेलो, एक्सक्युज मी !’

अलि पर कसैको आकृति देखें । हुस्सुले डम्म ढाकेकाले को हो पत्तै लगाउन सकिनँ । बिस्तारै नजिक आउँदै गर्दा त्यो आकृति एउटा स्त्रीको शारीरिक बनोटमा ढल्दै गयो । ती स्त्री हुस्सुसँग उम्कन खोज्दै मतिर हतारिँदै आउँदै थिइन् ।

उसले खरानी रङको ज्याकेट र कालो पाइन्ट लगाएकी थिई । देख्तै सहरिया लाग्ने उसका खुट्टामा पनि खरानी रङकै स्पोट्र्स जुत्ता थिए । उसको ढाडमा ब्याकप्याक झुन्डिएको थियो । कठ्याङ्ग्रिँदो चिसोको आक्रमणबाट बच्न टाउकामा ज्याकेटको टोपी लगाउँदै उनी मेरा अगाडि उभिइन् । मैले उनलाई तलदेखि माथिसम्म नियालेर हेरें । सहरमा हुँदा यस्ता केटीहरू आफैसँग ठोकिएर हिँडे पनि त्यति वास्ता लाग्दैनथ्यो तर गाउँमा आइपुग्दा कस्तो अनौठो लाग्ने, कुनै अर्कै ग्रहबाट आएझैं ।
उनी केही सोध्न खोज्दै थिइन्, तर केही बोल्न सकिरहेकी थिइनन् । सायद स्याँस्याँ र चिसोले गर्दा । मैले नि:शब्द एकोहोरो हेरिरहें । उनी मेरो नजिक उभिएकी थिइन् । टोपीबाट बाहिर निक्लेको उनको कपाल घाँटीभन्दा थोरै तलसम्म झरेको थियो । हेर्दै नरम, सलल परेको । गहुँगोरो वर्णको उनको अनुहार बाटुलो थियो । एकदम सफा, कतै दाग नभएको । टिलिलिली चम्किने । उनका आँखा नशालु देखिन्थे । एकछिन हेरिरह्यो भने लट्ठ पार्लाजस्तो । अनुहारमा कतै कृत्रिमताको स्पर्श थिएन । मेकअपबिना पनि कस्तो आकर्षक देखिएकी ! म झन् घोरिएँ । उनको चुच्चो नाक चिसोले होला रातो भएको थियो । त्यही रातो चुच्चो नाकमा सानो फुली टुपुक्क लगाएकी थिइन् । सोचें, पक्कै बाहुनकै छोरी हुन् । कस्ती राम्री बाहुनी ! आँखा झिमिक्कै नगरी हेरिरहूँ लाग्ने ।

एकछिनमा मनमा शङ्का जाग्यो— किचकन्नी पो हो कि ? राति यो बाटामा किचकन्नीले दु:ख दिन्छन् भनेर बच्चैदेखि सुन्दै आएको थिएँ, तर बिहानबिहानै किचकन्नी किन आउँथी र ? आएकी हो भने ? मेरो शरीर सिरिङ्ग भयो । बेहोसीपछि होस आएझैं मैले आफ्नो होस सम्हालें ।
‘बालभन्ज्याङ स्कुल कति टाढा छ ?’ उनले चर्को स्वरमा आँखीभौं माथि तानीतानी प्रश्न सोधिन् । कान सुन्दिनँ भन्ठानी कि अथवा मैले धेरै बेर उसको अनुहारमा टोलाएर हेरेकाले अलि झर्केर ठूलो स्वरमा सोधेकी हुन् कि ?

‘बालभन्ज्याङ स्कुलले तपाईंलाई हेरिरहेको छ, म्याडम । हुस्सुले गर्दा नदेख्नुभएको, इट्स राइट देअर,’ मैले स्कुलतिर हात देखाउँदै भनें । उसले एकपल आफ्नो नजर स्कुलतिर लगिन् र चर्को स्वरमा ‘थाङ्क यु’ भन्दै अगाडि बढिन् । म हेरेको हेर्‍यै भएँ । झनक्क रिस पनि उठ्यो । के विधि च्याठ्ठिएकी हुन् ? मेरी आमा भा’ भए पक्कै भन्नुहुने थियो— ‘उत्ताउली’ ।
एकछिनपछि पो झ्वाट्ट सम्झिएँ, लौ, म पनि त बालभन्ज्याङ स्कुल नै जाँदै छु । हिँड्नुस्, तपाईंको र मेरो पुग्ने ठाउँ एउटै हो भनेर दुई पाइला सँगै हिँडेको भए पनि कमसेकम दुइटा कुरा गर्ने मौका त मिल्थ्यो । ‘आफैं एक्सक्युज मी !’ भनेर नजिक आएपछि मेरा दुई–चारवटा कौतूहल मेटाउन उनी पनि बाध्य नै हुन्थिन् । उनी मात्तिएकी भए पनि दुई–चार कुरा गर्न रमाइलै हुन्थ्यो । थुइक्क बुद्धि !
मैले कहिल्यै उनलाई मदानपुरमा देखेको थिइनँ । उनी पक्कै पनि यहाँ पहिलो चोटि आएकी हुनुपर्छ । शिक्षिका बन्न आएकी त पक्कै होइनन्, विद्यार्थी पनि होइनन् । के सम्बन्ध हुन सक्छ उनको बालभन्ज्याङ स्कुलसँग ? यस्तो जाडोमा सिरक ओढेर नसुती नाक रातो बनाउँदै किन मदानपुरमा भौतारिरहेकी होलिन् ?

मेरा पाइला हतारिँदै अघि बढे । यो हतारो एक्कासि ममा कसरी आयो ? म केटाकेटीहरूसँग शिक्षा बाँड्न हतारिएको थिएँ कि ती स्त्रीलाई हेर्न ?
हेडमास्टर सूर्यप्रसाद बरालको ढोकामा पुगेर मेरा पाइला टक्क अडिए । ढोका आधा मात्र ढप्काइएको थियो । मैले देखें, ढोकाको ठीक अगाडि टेबल र टेबलमा छरपस्ट किताब र पत्रिकाहरू, टेबलपछाडि हेडमास्टरको कुर्ची, र कुर्चीपछाडि खैरो स्टिलको दराज । त्यही कुर्चीमा बसेर उनी एक युवतीसँग गफ गरिरहेका थिए । हेडमास्टरको कुर्चीपछाडि एउटा नीलो दराज थियो, सायद विद्यालयको महत्वपूर्ण कागजात त्यहीँ राखिन्थ्यो ।

मैले ढोका ढकढक्याउन मात्र के लागेको थिएँ, ठीक ढोकाअगाडि बसेका हेडमास्टरले मलाई देखेर भने, ‘अशोकजी, मैले एकछिन कुराएँ है तपाईंलाई ?’ उनी अगाडि बसेकी युवतीले फर्केर मतिर हेरिन् । उनी त अघि भेटेको युवती पो रहिछन् । के कुरा गर्न आएकी होलिन् ? साँच्चिकै हेडमास्टरले उनलाई पनि शिक्षकको जागिर खुवाउन बोलाएका हुन् कि ? के हुन्थ्यो र ? गाउँमा आएर शिक्षकको जागिर खाएर बस्न के सक्थे सहरका युवतीहरू ?

‘सर, म एकछिनमा आउँछु नि ।’ म फरक्क फर्किएँ ।

हेडमास्टरको कोठासँगै शिक्षकहरू बस्ने कोठा थियो, त्यो अहिले खाली थियो । सायद सबै शिक्षक आ–आफ्नो कक्षा लिन गएका थिए । म त्यही कोठा हुँदै बाहिरको करिडरमा गएर उभिएँ ।

एक्कासि घण्टी बज्यो— टिङटिङटिङ । सबै केटाकेटी हुरुर्र बाहिर निक्लिएँ । सायद ब्रेकको घण्टी थियो । ब्रेकमा सानो छँदा हामी पनि कक्षाकोठाबाट भेडाबाख्राजसरी निस्किएर चौरभरि छरिन्थ्यौं । कहिलेकाहीँ गेम पनि खेलिभ्याउँथ्यौं ।

सायद ब्रेक पाँच–दस मिनेटको थियो, त्यसैले सबै विद्यार्थी हतारहतार पानी खान र पिसाब फेर्न दौडिँदै थिए । एकैछिनमा घण्टी बज्यो, विद्यार्थर्ीहरू उही गतिमा आफ्नो कक्षातिर लागे ।  सोचें, हेडमास्टरको कुराकानी सकियो कि । फर्किएँ उनको कोठातिर ।
हेडमास्टर आफ्नो कुर्चीबाट उभिइसकेका रहेछन्, युवती पनि उठिसकेकी थिइन् । सायद उनीहरू कुरा सकेर बाहिर निस्कने तरखर गर्दै थिए । त्यो दृश्यपट्टि ध्यान नदिई मोबाइलमा व्यस्त भएझैं गर्न थालें ।

मोबाइलको स्क्रिनमा आफ्नो अनुहारैभरि तँछाड–मछाड गरेर पलाइरहेका दारीहरूतिर मेरा आँखा गए । बाहुनको छोरो हुनुको विडम्बना— कति छिटो दारी पलाउने, काट्नैको हैरान । हिजो भिसाका लागि इन्टरभ्यु दिन जाँदा नलागेको दारीको पिर अचानक यो स्कुलमा आउँदा पो लाग्न थाल्यो † हिजै काटेरै हिँडेको भए पनि हुन्थ्यो ।

अनुहार फोहोरी देखिएको थियो, एकमनले सोचें, ती युवतीले के सोची होलिन् ? अर्को मनले सोच्यो, ह्या, जे सुकै सोचोस् यत्रैसिती ।
‘अशोकजी, नमस्कार !’ हेडमास्टर ढोकैदेखि कराए ।
मेरा आँखा हेडमास्टरतिर गएनन्, तिनै युवतीमा गए । उनले अहिले ज्याकेटको टोपी टाउकामा सिउरिएकी थिइनन् । म एकछिन उनको अनुहारमा टोलाएँ । उनी मन्द मुस्कान दिँदै मेरो नजिकैबाट उता गइन्, झन्नैझन्नै मलाई छोएर । मेरो नाकले उनको शरीरको गन्धसँग परिचय गर्ने प्रयास गर्दै थियो, तर उनी फुर्र भैहालिन् ।
(विनिता बरालद्वारा लिखित उपन्यास जुइनोको अंश) 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया