नारायणगढ–मुग्लिन सडक विस्तारको काम ढिला हुँदा स्थानीयवासी समस्यामा

काठमाडौँ १४ पुस

चितवन– नारायणगढ–मुग्लिन सडक विस्तारको काम ढिला हुँदा जति यात्रु प्रताडित छन् त्योभन्दा बढी स्थानीय जनता प्रभावित भएका छन् ।  सडकमा सवारीसाधन रोकिँदा यात्रुले दिसापिसाब गर्ने थलो नै सडक आसपास हुने गरेकाले यात्रुले मठमन्दिरदेखि खाना पकाउने चुलोसम्ममा दिसापिसाब गरेको स्थानीयवासीको गुनासो छ । उक्त सडक पर्ने भरतपुर महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष मानबहादुर रानामगर सडक बन्द हुँदा स्थानीयवासी साह्रै ठूलो समस्यामा पर्ने गरेको बताउँछन् । उनी भन्छन्,  “घरको चुलोचौकोदेखि मठमन्दिरसम्म यात्रुले दिसापिसाब गरेर सताएका छन् ।” दासढुङ्गाको रामलक्ष्मण होटलको चुलोमा नै दिसा गरेको पाइयो वडाअध्यक्ष रानामगर उल्लेख गर्छन्, “फोहर नगरेको ठाउँ भेट्न मुस्किल हुन्छ ।” करेसाबारी र खेती गरेका ठाउँमा भएका फोहरको स्थानीयवासीले खासै गुनासो गरेका छैनन् तर त्योभन्दा बढी गुनासो संवेदनशील क्षेत्रमा भएका फोहरमैलामा छ । अब सवारीसाधन रोक्नुपर्दा घरगाउँ नभएका क्षेत्रमा रोक्न स्थानीय प्रशासनसँग आग्रह गरिएको उनी बताउँछन् ।

नारायणगढ–मुग्लिन सडकखण्डको जुगेडी पुल नजिकै घर भएका टीकाराम पौडेल पनि समयमा काम नगरिदिँदा स्थानीयवासी पीडित बनेको बताउँछन् । सडक आसपासमा यात्रुले फोहर गर्ने गरेको, सडक धुलाम्य हुँदा प्रदूषण बढेको, गाडीका हर्नले ध्वनि प्रदूषण बढाएको उनको भनाइ छ । घरका चुलो, पानीका धारा, मठमन्दिर, गोठ, घर, आँगन जताततै फोहर हुने गरेको स्थानीयबासीको गुनासो छ । चितवन खुल्ला दिशामुक्त जिल्ला घोषणा भए पनि राजमार्ग र सडक क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा समस्या बढेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्त पनि स्थानीयवासीको व्यापक गुनासाका कारण पुस १८ गतेबाट सडक बन्द गर्दा होटल र घर नभएको क्षेत्रमा सवारी रोक्न लागिएको बताउँछन् । सो सडकखण्ड दुई वर्षभित्रमा निर्माण गर्नका लागि सडकलाई तीन भागमा विभाजन गरेर तीन वटा ठेकेदार कम्पनीलाई ठेक्का दिइएको थियो । निर्माण सम्पन्न गर्नुपर्ने सम्झौताको पहिलो समय सकिइसकेको छ । हालसम्म ६५ प्रतिशत मात्र काम भएको छ । विभिन्न कारण जनाउँदै ठेकेदार कम्पनीले समय थप गर्दै आएका छन् । थपिएको समय आउँदो फेब्रुअरीमा सकिँदैछ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया