निःशुल्क मुटु स्वास्थ्य शिविरमा चार सय जना लाभान्वित

काठमाडौँ ९ पुस

बाबियाचौर, म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा शनिबार निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको प्राविधिक सहयोगमा नेपाल रेडक्रश सोसाइटी भुरुङ तातोपानी उपशाखाले स्थानीय स्वास्थ्य चौकीमा एक दिने शिविर सञ्चालन गरेको हो । अन्नपूर्ण, रघुगंगा गाउँपालिका र बेनी नगरपालिका ४०३ जना सर्वसाधारणले सेवा लिएका शिविरका संयोजक आत्मा तुलाचनले जानकारी दिनुभयो । शिविरमा जटिल समस्या देखिएका ११ जना बिरामी पहिचान भएका छन् ।

उनीहरुलाई जयन्ती स्मृति कोषले आवतआवतको खर्चसहित शल्यक्रियाको व्यवस्था मिलाएको संयोजक तुलाचनले जानकारी दिनुभयो । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका मुटुरोग विशेषज्ञ डा रवी मल्ल नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो । मुटु परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणका साथै अत्याधुनिक उपकरणद्वारा मुटुको इसिजी र इको गरिएको थियो । सो शिविर सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले रु एक लाख सहयोग गरेको थियो । मुटुरोगीको पहिचान गरी उनीहरुको उपचार सेवामा पहुँच बढाउने उद्देश्यले ग्रामीण क्षेत्रमा शिविर सञ्चालन गरेर सेवा दिएको वरिष्ठ विशेषक्ष डा रवी मल्लले बताउनुभयो । नसर्ने रोग नेपालमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ । जसमध्ये मुटु रोग पनि एक हो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया