निकुञ्ज भ्रमणपछि देउवाले भन्नुभयो – बाघ हेर्न अर्काेपटक आउँछु

काठमाडौँ ५ चैत्र

चितवन-  जंगल सफारीका लागि विश्व प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको आज भ्रमणपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाघ हेर्न अर्काेपटक आउने गरी बिदाइ हुनुभएको छ ।नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका देउवा कसराको डुमरिया फाँट हुँदै पदमपुर, जर्नेली पोष्ट, विक्रम बाबा दर्शन, घडियाल प्रजनन केन्द्र अवलोकन गर्दै फर्किनुभएको थियो ।

निकुञ्ज घुमाउनसँगै रहनुभएका मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले भ्रमणका क्रममा सातवटा गैँडा, मयुर, गोही, चराचुरुङ्गी देखेपछि उहाँले अहिले बाघ देखिएन अर्काेपटक आउने बताउनुभएको हो ।ढुंगानाले भन्नुभयो, “पूर्व प्रधानमन्त्री देउवा गैँडा देखेपछि निकै उत्साहित हुँदै बाघ हेर्न फेरि आउने बताउनुभयो ।”वन र वन्यजन्तु संरक्षणमा निकै चासो राख्ने देउवाले निकुञ्ज संरक्षणमा ध्यान दिन सँगै रहेका संरक्षणकर्मीलाई आग्रह पनि गर्नुभएको थियो ।

उहाँसँगै सांसदहरु, काँग्रेस नेता, निकुञ्ज अधिकारी र मध्यवर्तीका पदाधिकारीहरु जंगल सफारीमा रहनुभएको थियो । बिहान ८ बजे जिप सफारीका लागि निकुञ्ज छिर्नुभएका देउवा १०ः३० बजेमात्रै फर्किनुभएको थियो ।रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया