निक्षेप र कर्जाको ब्याजदर समान
काठमाडौँ १९ अशोज
मुलुकको वित्तीय क्षेत्रमा यतिबेला संसारमा बिरलै हुने घटना भएको छ । निक्षेप र कर्जाको ब्याजदर झन्डै समान देखिएको घटना मुलुकको वित्तीय इतिहासका लागि दुर्लभ मानिन्छ। यो खबर हामीले आजको कारोबारबाट लिएका हौं।
बैंकिङ प्रणालीमा रहेको अधिक तरलता घट्दै गएपछि बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर बढाएर सात प्रतिशतसम्म पु¥याएका छन् । तर, ट्रस्ट रिसिप्टदेखि गाडी खरिदका लागि पाइने पनि बैंकहरूले सात प्रतिशत नै ब्याजदर लिइरहेका छन् ।
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष उपेन्द्र पौडेल अहिले मुद्दती निक्षेप र कर्जाका केही योजनामा ब्याजदर समान अवस्थामा रहेको बताउँछन् । “मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशतमा पनि नपाउने अवस्थामा पुगेको छ ।
तर, अटोदेखि ट्रस्ट रिसिप्ट तथा अल्पकालीन खालका कर्जा ७ प्रतिशत ब्याजदरमा गइरहेको छ,” एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पौडेलले भने ।
रेमिट्यान्स घटेको कारण साउनदेखि बैंकिङ प्रणालीमा निक्षेपको वृद्धिदर अघिल्लो वर्षजस्तो छैन । तर, कर्जाको माग भने बढी छ । मुद्दती निक्षेपमा नयाँ योजनासहित ब्याजदर बढाउन बैंकहरूले थाले पनि कर्जाको ब्याजदर भने तत्काल नबढ्ने बैकर्स संघका अध्यक्ष पौडेल बताउँछन् ।
साउनमा रेमिट्यान्स घटेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरिसकेको छ । जसका कारण शोधनान्तरसमेत दुई वर्षपछि घाटामा गएको छ । भदौदेखि रेमिट्यान्स रकम बढे पनि बैंकिङ क्षेत्रमा तरलताको अवस्थामा भने खासै परिवर्तन आउको छैन ।
जनता बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल प्रतिस्पर्धाको कारण मुद्दती निक्षेपको ब्याजदर बढाउँदैमा तत्कालै कर्जाको ब्याजदर बढ्न नसक्ने बताउँछन् । “पुँजी वृद्धिसँगै बैंकहरूलाई व्यवसाय बढाउनका लागि चुनौतीपूर्ण छ,” लम्साल भन्छन् ।
उनले अधिक तरलता हट्दै गए पनि प्रतिस्पर्धाको कारण कर्जाको ब्याजदर बढाउन सक्ने अहिले सक्ने अवस्था नरहेको बताए । “निक्षेपको लागत बढ्ने तर, त्यो अनुपातमा कर्जाको ब्याजदर नबढेपछि कम मार्जिनमा काम गर्नुपर्ने अवस्था आउन सक्छ,” लम्सालले भने ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत संस्थागत निक्षेपको अनुपात ६० प्रतिशतबाट ५० प्रतिशतमा झार्न निर्देशन दिएको छ । जसको कारण बैंकहरूले व्यक्तिगततर्फको निक्षेप आकर्षित गर्न मुद्दती निक्षेपको ब्याजदर बढाउनुपर्ने दबाब छ ।
“एक महिना अगाडि प्रतिबद्धता गरेका केही कर्जामा अहिले निक्षेपमा ब्याजदर बढ्दैमा बढाउन सक्ने अवस्था छैन । अटोसहित केही कर्जामा बैंकहरूले सात प्रतिशतमै ऋण दिने प्रतिबद्धता व्यक्त गरेका थिए । जसको कारण निक्षेप र कर्जाका केही योजनाको ब्याजदर समान भएको छ,” पौडेलले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया