निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँन रूख काट्ने प्रस्ताव अघि बढाइने

काठमाडौं, भदौ २८ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा १९ सय हेक्टरभित्र आधारभूत संरचना बन्ने भए पनि ८ हजार ४५।७९ हेक्टरका रूख काट्न लागिएकामा वन र वातावरणविद्ले आपत्ति जनाएका छन् ।

५ लाख ८५ हजार ४ सय ९९ ठूला र १८ लाख ६४ हजार ८ सय २० वटा पोल आकारका गरी कुल २४ लाख ५० हजार ३ सय १९ वटा रूख काटेर विमानस्थल बनाउने योजनाअनुसार वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन गत जेठमा तत्कालीन वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेको छ ।

रूख नोक्सानीको शोधभर्नास्वरूप आयोजनाले एक रूख बराबर २५ बिरुवाका दरले जम्मा ६ करोड १२ लाख ७० हजार ५ सय २५ बिरुवा रोप्नुपर्ने हुन्छ । त्यसका लागि ३८ हजार २ सय ९४ हेक्टर जमिन आवश्यक पर्छ ।

त्यो जमिन कहाँ छ, अहिलेसम्म टुंगो लगाइएको छैन । ईआईए स्वीकृत गर्ने वातावरण र रूख काट्न अनुमति दिने ९भोगाधिकार दिने० वन मन्त्रालय गाभिएर यतिबेला ‘वन तथा वातावरण मन्त्रालय’ बनेको छ ।

विमानस्थलका लागि ईआईए स्वीकृत भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो चरणमा १ लाख ९५ हजार ५ ठूला र ५ लाख ७५ हजार २ सय ८६ साना गरी कुल ७ लाख ७० हजार २ सय ९१ रूख कटानको प्रक्रिया अघि बढाइदिन तीन महिनाअघि नै वन तथा वातावरण मन्त्रालयसँग आग्रह गरिसकेको छ ।

तीन महिनासम्म रूख काट्ने फाइल मन्त्रालयमै थन्किएपछि पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सोमबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेर उक्त फाइल अघि बढाइदिन आग्रह गरे । वनमन्त्री बस्नेतले भने विमानस्थल बनाउन कति क्षेत्र आवश्यक पर्ने हो, त्यसबारे प्रधानमन्त्रीसँग समेत छलफल गरेपछि मात्र फाइल अघि बढाउने जवाफ अधिकारीलाई दिएका छन् ।

‘विमानस्थल हामीलाई चाहिएको छ,’ मन्त्री बस्नेतले बुधबार कान्तिपुरसँग भने, ‘तर कति क्षेत्रमा बनाउने भनेर पहिला प्रधानमन्त्रीज्यूसँग छलफल गर्ने कुरा भएको छ ।’ कान्तिपुर दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया