निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एसियाको ट्रान्जिट हब बन्ने

काठमाडौं,३१ भदौ ।

बाराको निजगढमा निर्माणाधीन विमानस्थल अन्तर्राष्ट्रिय ट्रान्जिट हबका रूपमा प्रयोग गरिने भएको छ । यो विश्वकै नमुना विमानस्थल बन्ने भएकाले ट्रान्जिट हबका लागि प्रयोग गर्न लागिएको हो । विश्वका जुनसुकै स्थानमा सीधा उडान गर्न सकिने गरी यो विमानस्थल बनाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले यो विमानस्थल विश्वकै नमुना र हरियाली कायम गरेर बन्ने विमानस्थलका रूपमा अगाडि बढाइएको बताएका छन् । प्राधिकरणले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अधिकारीले भने, ‘नेपाललाई अन्तर्राष्ट्रिय ट्रान्जिट हब बनाउन यो विमानस्थल निर्माण गर्न लागिएको हो ।

यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय, पोखरा र भैरहवाको गौतमबुद्ध विमानस्थलभन्दा फरक हो ।’ हाल काठमाडौंको विमानस्थल भुटान एयरले मात्रै ट्रान्जिटका रूपमा प्रयोग गरेको छ ।

निजगढ विमानस्थल संसारमा हाल निर्माण भइरहेका ठूलामध्येको एक हो । यो विमास्थल अन्तर्राष्ट्रिय वायुसेवाले ट्रान्जिटका रूपमा प्रयोग गर्ने सक्नेछन् । यो विमानस्थल निर्माणको सुरुवात पहिलो चरणमा एउटामात्रै धावनमार्गबाट हुनेछ । दोस्रो चरणमा दुई र पूर्णक्षमतमा सञ्चालन गर्दा तीनवटा धावनमार्ग हुने मन्त्री अधिकारीले बताए ।

‘अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा लामो दूरीमा उडान गर्न सक्ने क्षमता साढे १८ घण्टासम्मको छ । निजगढ विमानस्थलबाट पनि विश्वका जुनसुकै कुनाको विमानस्थमा उक्त समयसम्मको उडान क्षमता हुनेछ’, प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने ।

उनका अनुसार यो विमानस्थल अन्तर्राष्ट्रिय नागरिक संगठन (आईकाओ)को मापदण्डअनुसार फोर एफ पूर्णक्षमताको विमानस्थल हुनेछ । यहाँ ठूूलाठूला विमानले उडान गर्न सक्नेछन् ।

‘विमानस्थल बनाउन प्राधिकरणले आगामी एक महिनामै विस्तृत परियोजना अध्ययन प्रतिवेदन ९डीपीआर० बनाउने कम्पनी छनोट गर्ने गौतमले जानकारी दिए । प्राधिकरणले आशयपत्र माग गरेका कम्पनीको मूल्यांकन भइरहेकाले विमानस्थल बनाउने साइट क्लियर गर्दा डीपीआर प्रतिवेदन आइसक्ने गरी प्रक्रिया अगाडि बढाइएको छ ।

यो विमानस्थल बनाउन दुई वर्ष साइट क्लियर गर्न लाग्छ भने त्यसपछि प्रस्ताव माग गरेको पाँच वर्ष बनाउनै लाग्ने प्राधिकरणका महानिर्देशक गौतम बताउँछन् । विमानस्थले ओगट्ने क्षेत्रफल आठ हजार ४५ हेक्टर भए पनि पहिलोचरणमा विमानस्थल बनाउन आवश्यक क्षेत्रफल २५ सय ९३ हेक्टर मात्रै चाहिने यस अघि कोरियाली कम्पनी ल्यान्डमार्क वल्डवाइड (एलएमडब्ल्यू)ले तयार पारेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख छ । अन्नपूर्ण पोस्टबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया