बिजनेसपति १९ बैशाख
स्थानीय तहको निर्वाचनलाई धितोपत्र बजारले ‘हरियो झन्डा’ देखाएर स्वागत गरेको छ ।
निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि तोकेको दिन धितोपत्र बजारमा करिब ९३ करोडको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल १ सय ४३ कंका १५ लाख ४८ हजार कित्ता सेयर ९२ करोड ९० लाखमा खरिद बिक्री भएका छन् ।
पहिलो चरणको स्थानीय तहको निर्वाचनको मनोनयन दर्ता सुरु भएसँगै बजार उकालो लागेको हो । स्टकको सेयर कारोबार मापक सूचक ७.५५ अङ्कले बढेर १६५८.३३ अङ्कमा पुगेको छ । नेप्से परिसूचक सूचक बढेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा बढेको छ ।
कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड २९ लाख बराबरको सेयर किनबेच भएको छ । यस्तै नेपाल एसबिआइ बैंक लिको कारोबार रकमका आधारमा दोस्रो भएको छ । सो बैंकको ३ करोड ४६ लाख बराबरको सेयर खरिद बिक्री भएको छ ।
समग्र समूहमध्ये ४ समूहको सेयर कारोबार वृद्धि भएको तथा ४ समूहको सेयर मूल्य घटेको स्टकले जनाएको छ । त्यसमा बैंकिङ ६.८८, विकास बैंक १६.४३, जलविद्युत् ३.१६ र बिमा ७९.०२ अङ्कले बढेको छ । त्यस्तै होटल २८.८८, फाइनान्स २.१७, उत्पादन समूह ५.४६ र अन्य २.३२ अङकले घटेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया