निसान–रिनाउल्ट सर्वाधिक सवारी बिक्री गर्ने कम्पनी

टोकियो १६ श्रावण
चालू वर्षको सुरु अर्धवार्षिक अवधिमा अन्य प्रतिस्पर्धीलाई पछाडि पार्दै बिक्रीका आधारमा निसान र फ्रान्सेली कम्पनीको गठबन्धन पहिलो भएको छ । फक्सवागन, टोयोटा र जनरल मोटर्सलाई पछाडि पार्दैै निसान–रिनाउल्ट पहिलो भएको हो ।
गत वर्ष मात्रै खरिद गरिएको मित्सुबिसी मोटर्सलाई समेत समावेश गर्दा निसान–रिनाउल्टको गठबन्धन पहिलो भएको हो । यो गठबन्धनले जनवरीदेखि जुनसम्मको अवधिमा ५२ लाख ६८ हजार ७९ सवारी साधन बिक्री गरेको छ ।
यो संख्या फक्सवागनको ५१ लाख २९ हजारभन्दा बढी हो । अउडी र लामबोर्घिनीसमेत सहभागी भएको फक्सवागन गत वर्ष पहिलो पटक विश्वमै सर्वाधिक सवारी बिक्री गर्ने कम्पनी भएको थियो ।
अमेरिकी कम्पनी जनरल मोटर्सले बिक्रीका आधारमा विश्वमा ७ दशकको अवधिसम्म पहिलो स्थान ओगट्दै आएको थियो । तर, चालू वर्षको सुरु अर्धवार्षिक अवधिमा यो कम्पनीले ४७ लाख सवारी बिक्री गरेर चौथो स्थानमा ओर्लिएको छ ।
प्रदूषण छली काण्डमा मुछिएका कारण फक्सवागनको ख्यातिको असर परे पनि चीन र अन्य बजारमा बिक्री बढेकाले यो कम्पनीको बिक्री पनि उत्साहजनक नै रह्यो ।
तर पूरै वर्षको अवधिमा विश्वव्यापी बिक्रीमा निसानले आफ्नो पहिलो स्थान कायम राख्न सक्ने वा नसक्ने भन्ने विषय भने अझै अस्पष्ट छ ।अटो क्षेत्रका अधिकारीहरूले भने बिक्री संख्याको महŒवलाई त्यति ध्यान दिएका छैनन् ।
उनीहरूले उपभोक्तालाई सन्तुष्ट पार्नका लागि राम्रो उत्पादन ल्याउने विषयलाई बढी महŒव दिएका छन् । तर, बिक्रीका आधारमा विश्वकै पहिलो नम्बरको सवारी साधन हुने विषयलाई महŒव दिनेमा फक्सवागन अपवादका रूपमा रहँदै आएको छ ।
तर निसान–रिनाउल्टको उदयले डेट्रोइटबाहिरका उत्पादकहरूको शक्तिलाई उजागर गरेको छ ।बिक्री वृद्धिले उच्च नाफा गर्न नसकेमा बिक्री संख्या अर्थहीन हुने निसान कर्पोरेटका उपाध्यक्ष जोजी तागावाले बताए ।
“पहिलो, दोस्रो वा तेस्रो स्थानमा पर्नुले मलाई व्यक्तिगत रूपमा अर्थ राख्दैन,” उनले भने । यो आफ्नो कम्पनीको लक्ष्य पनि नभएको उनले बताए ।
केमरी सेडान, प्रिअस हाइब्रिड र लेक्सास विलासी मोडलको निर्माता टोयोटाले बिक्रीका आधारमा २००८ मा जीएम मोटर्सलाई पछाडि पारेको थियो ।
तर, पछि २०११ मा आएर जीएमभन्दा पछाडि परेको थियो । फक्सवागनले उक्त स्थान लिनुपूर्व पुनः टोयोटा पहिलो स्थानमै पर्न सफल भएको थियो । एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया