नुवाकोटमा तीन अर्ब लगानीमा खुले होटल

काठमाडौं, २ बैशाख ।

काठमाडौंबाट नजिकै रहेको नुवाकोटमा पछिल्लो समय होटल व्यवसायमा लगानी बढेको छ। व्यापारिक गतिविधिमा वृद्धि र सडक सञ्जाल थपिएका कारण होटल व्यवसायमा लगानी बढेको हो।

विदुर र बेलकोटगढी नगरपालिका तथा १० वटा गाउँपालिका रहेको नुवाकोटमा होटल क्षेत्रमा मात्रै तीन अर्ब रुपैयाँ लगानी भइसकेको नुवाकोट उद्योग वाणिज्य संघले जानकारी दिएको छ। पहाडी संरचना रहेको नुवाकोटमा पछिल्लो पाँच वर्षदेखि होटलमा लगानी गर्ने क्रममा बढोत्तरी भएको हो। होटल व्यवसायमा तीन अर्ब लगानी भइसकेको संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए।

नेपाल–चीन प्रवेशका लागि रसुवागढी नाका आधिकारिक रूपमा सञ्चालनमा आएपछि नुवाकोटमा यात्रु र पर्यटकको संख्या बढिरहेको छ। नुवाकोटमा स्टार होटल नभए पनि पर्यटकका लागि पर्याप्त सेवा, सुविधा तथा गुणस्तर रहेको कार्कीले बताए। काठमाडौंलगायत रसुवा, धादिङ, चितवन, सिन्धुपाल्चोक, गोरखाबाटसमेत पर्यटक नुवाकोट घुम्न आएर होटलमा बस्ने गरेका छन्।

रसुवागढी नाका सञ्चालनका साथै काठमाडौंबाट नुवाकोट प्रवेश गर्न तीनवटा सडकमार्ग रहेका कारण आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढिरहेको छ। होटल व्यवसायमा लगानीकर्ता बढिरहेको उद्योग वाणिज्य संघ नुवाकोटका प्रवक्ता सवीन राजभण्डारीले बताए।

उनका अनुसार तीन वर्ष यतादेखि नुवाकोट र रसुवामा पारिवारिक वातावरणका होटल खुल्ने क्रम बढिरहेका छन्। सानाठूला गरी नुवाकोटमा एक सय ६० र रसुवामा ७५ वटा होटल सञ्चालनमा छन्।

रसुवाको होटल व्यवसायमा समेत दुई अर्ब भएको छ। कतिपय होटलले त होम स्टे प्रकृतिबाट ग्राहकलाई सेवा प्रदान गरिरहेका छन्।

नुवाकोटको विदुर, बट्टार, पीपलटार, ढिकुरे, देवीघाट, वेत्रावती, छहरे, खरानीटार, रसुवाको कालिकास्थान, धुन्चे, स्याफ्रुबेसी, टिमुरेलगायत स्थानमा होटल खुल्ने क्रम बढिरहेको पर्यटन व्यवसायी दीपेन्द्र पौडेलले बताउँछन्।

होटलमा खाना तथा वासस्थानको गुणस्तर कायम गरेपछि एकपटक आएका ग्राहक पुनस् आउने गरेको बट्टारका अर्का पर्यटन व्यवसायी राममणि अधिकारीले बताए। अधिकारीलगायत एक सय ४४ जनाले पर्यटन सहकारीमार्फत ११ करोडको लगानीमा होटल वाटर टावर सञ्चालन गरेका छन्।

नारायण भट्टले वट्टार बजारको दम्की चोकमा दुई करोड लगानी गरेर आधुनिक होटल सञ्चालन गरेका छन्। युवा पर्यटन व्यवसायी दीपेन्द्र लोहनीको अगुवाइमा होटल नुवाकोट भ्यू सञ्चालनमा ल्याइएको हो। दुई करोड रुपैयाँ लागतमा निर्मित यस होटलबाट नुवाकोटका अधिकांश स्थान देख्न सकिन्छ।

रसुवागढी, स्याउबारी, केरुङ, बेत्रावती, जालपादेवी, भैरवी मन्दिरलगायत ठाउँमा घुम्न आउने पर्यटकसमेत नुवाकोटका होटलमा बस्ने गरेको व्यवसायी बताउँछन्। नयाँ होटल स्थापना भएसँगै नुवाकोटमा गैरसरकारी, विभिन्न सघंसस्था, सरकारी कार्यालयलगायत कायक्रम होटलका हलमा नै हुने गरेको थपलिया बताउँछन्।

आव ०७५/०७६ देखि नगरपालिकाले निर्णय गरेको करअनुसार भ्याट र प्यानमा दर्ता भएका होटललाई छुट्टा छुट्टै कर लगाइएको उद्योग वाणिज्य सघं नुवाकोटकी वरिष्ठ उपाध्यक्ष गीता अमात्यले बताइन्। आजको अन्नपूर्ण पोष्टबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया