नेपालकै ठूलो कागज कारखाना सञ्चालनमा

काठमाडौंं, फागुन २२, २०८१ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको लगानीमा रहेको नेपालकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा आएको छ।
अध्यक्ष ढकालको लगानीमा महोत्तरीमा नेपालकै सबैभन्दा ठूलो कागज उद्योग आज (बिहीबार) बाट पूर्ण रूपमा सञ्चालन गर्न लागिएको हो। विशेष गरी वित्तीय, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा संलग्न रहेको आईएमई ग्रुपले आजबाट कागज कारखाना सञ्चालन गरेको छ।
नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रा.लि.ले सञ्चालनमा ल्याएको कागज कारखानामा आईएमई ग्रुपको २ अर्ब बढी लगानी रहेको छ। महोत्तरीको गौशाला नगरपालिका १ स्थित रामनगरमा रहेको यस उद्योगमा सबै नेपाली लगानीकर्ताहरूको लगानी छ। २०७८ मा शिलान्यास भएको यो उद्योगले निर्माण प्रक्रिया सकिएर २०८१ पुसदेखि उत्पादन सुरु गरिसकेको छ।
महोत्तरीमा संवाददातासँगको कुराकानीमा अध्यक्ष ढकालले उद्योगले आयात प्रतिस्थापन गर्दै स्वदेशमै ठूलो रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको बताए। नेपालमा वार्षिक झन्डै डेढ लाख मेट्रिक टन कागज खपत भइरहेको छ। नेपालमा कागज उद्योग नहुँदा अहिले सबै कामका लागि आवश्यक कागज आयात गर्नुपर्ने अवस्था रहेकाले निजी क्षेत्रले लगानी गरेर अगाडि बढाउन लागिएको बताए। उनले सरकारले अध्यादेशमार्फत निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्नेगरी कानूनमा सुधार गरेकाले पनि अहिले लगानीको वातावरण बनेको जिकिर गरे। उनले नेपालमा लगानीको वातावरण नरहेको भन्ने भाष्य चिर्न पनि कागज उद्योग महत्वपूर्ण हुने बताए।
विद्यालय, क्याम्पसमा लेख्ने–पढ्ने कापीदेखि फोटोकपी, ट्वाइलेट तथा टिस्यु पेपरसम्ममा समेत नेपाल परनिर्भर अवस्थामा छ। तर अब उद्योग सञ्चालनमा आएसँगै पहिलो वर्षमै नेपालका लागि आवश्यकमध्ये करिब ४० प्रतिशत कागज नेपालमै उत्पादन हुने छ। उद्योगले स्वदेशी कच्चापदार्थ र जनशक्ति परिचालन गरी स्वदेशमै उच्च गुणस्तरीय कागज उत्पादन गर्ने दाबी गरेको छ। न्युज एजेन्सी नेपाल
फेसबुकबाट तपाईको प्रतिक्रिया