नेपालको प्रमुख निकासी वस्तु भारतमा प्रतिबन्धित

काठमाडौं, २४ पुस

भारतले पाम तेल (पाम आयल) आयातमा प्रतिबन्ध लगाएको छ । पाम आयल नेपालको प्रमुख निकासी वस्तु हो । यसको सबै हिस्सा भारतमा निकासी हुँदै आएको छ ।

चालू आवको पाँच महिना (साउन–मंसिर) मा नेपालले ११ अर्ब ५५ करोड रुपैयाँको पाम तेल भारतमा निकासी गरेको भन्सार विभागले जनाएको छ । कुल निर्यातमा पाम तेलको हिस्सा २४.२५ प्रतिशत थियो । पाम तेलको निकासी गत आवको सोही अवधिमा एक अर्ब ३५ करोड रुपैयाँ थियो ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले बुधबार वैदेशिक व्यापार नीतिमा भएको संशोधनका सम्बन्धमा सूचित गरेर पाम आयल आयातमा प्रतिबन्ध लगाएको हो । नेपालका लागि यो ‘नट बोल्ट’ प्रविधिमा आधारित उद्योग हो । इन्डोनेसियाबाट कच्चा पाम तेल ल्याएर सामान्य प्रशोधनपछि भारतमा निकासी हुने गरेको थियो । नेपालको उत्पादन नभएकाले कच्चा वस्तुदेखि निकासी हुँदासम्म यसले विभिन्न चरणका मूल्य शृंखलामा सिर्जना गर्नुपर्ने मूल्यवृद्धिको लाभ नेपाललाई थिएन ।

भारतीय आयातकर्ताले पाम तेल उत्पादन हुने इन्डोनेसिया या मलेसिया जस्ता राष्ट्रबाट आयात गर्दा ४० प्रतिशत भन्सार महसुल तोकिएको थियो। नेपालले भारतमा निकासी गर्दा भन्सार लाग्दैन ।

त्यस कारण इन्डोनेसियाबाट पाम तेल ल्याउँदा नेपालमा १० प्रतिशत भन्सार महसुल लाग्ने गरेको छ । नेपाल–भारत वाणिज्य सन्धिको प्रावधानअनुसार अल्पविकसित मुलुकका रुपमा नेपालले भारतीय बजारमा निकासी गर्दा भन्सार लाग्दैन। तर कुनै पनि वस्तु निकासी गर्दा नेपालमा ३० प्रतिशत गुणवत्ता अभिवृद्धि ९भ्यालु एडिसन० भएको हुनुपर्छ ।

३० प्रतिशत बिन्दुको भन्सार महसुलको फरकको लाभकै कारण नेपालमा इन्डोनेसियाबाट पाम आयल आयात गरेर सामान्य प्रशोधनपछि भारत पठाउने क्रमले तीव्रता पाएको हो । चालु आवको पहिलो पाँच महिनामा नेपालले इन्डोनेसियाबाट १० अर्ब १२ करोडको पाम तेल आयात गरेको देखिन्छ । पाम तेल आयातले इन्डोनेसिया आयाततर्फ भारत र चीनपछि तेस्रो प्रमुख व्यापारिक साझेदारका रूपमा देखिएको छ ।

भारतले प्रशोधित र कच्चा पाम तेल आयातमा प्रतिबन्ध लगाएको छ । नेपाल–भारत सन् १९९६ को उदार वाणिज्य सन्धिले नेपालबाट भारतमा निकासी वृद्धि भएको थियो। जसमा वनस्पति घिउ, तामाको तार, जिंक अक्साइडजस्ता वस्तु प्रमुख निकासीका रूपमा थिए । तर, भारतले सन् २००४ मा निकासीमा कोटा प्रणाली तोकिदिएपछि सम्बन्धित उद्योग संकटमा परेका थिए ।

केही वर्षअघि सुपारी निर्यातमा पनि यस्तै समस्या देखिएको थियो । नेपालमा उत्पादन भएको परिमाणभन्दा भारतमा बढी सुपारी निकासी हुन थालेपछि भारतले प्रश्न उठाएर रोकिदिएको थियो ।

नेपालमा पाम आयल प्रशोधनका लागि भारतीय सीमा क्षेत्रमा केही उद्योग स्थापना भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार पाम आयल प्रशोधन गर्ने वीरगन्जमा १३, विराटनगरमा ६ र भैरहवामा ३ उद्योग छन् । अन्नपूर्ण पोष्टबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया