नेपालमा कति चाहिन्छ बीमा कम्पनी ? सुरु भयो अध्ययन
काठमाडौं०९ साउन २०७९ ।
मुलुुकमा कतिवटा बीमा कम्पनी आवश्यक छ भन्ने विषयमा नियामक निकाय बीमा समितिले अध्ययन सुरु गर्ने भएको छ । अहिले देशमा कतिवटा बीमा कम्पनीको आवश्यकता छ । कतिवटा कम्पनी हुँदा पुग्छन् भनी कुनै अध्ययन छैन ।
चालू आर्थिक वर्ष २०७९/८० मा नेपालमा कति बीमा कम्पनीको आवश्यकता छ भन्ने विषयमा अध्ययन गर्न लागेको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । पछिल्लो समय बीमा कम्पनीहरू मर्जरमा गइरहँदा के कति कम्पनी आवश्यक हुन्छ भन्ने चर्चा चलेपछि सो अध्ययन सुरु हुने भएको छ ।
समितिले पनि नेपालको भूगोल, अर्थतन्त्रको अवस्था हेरेर कति बीमा कम्पनी चाहिने हो अध्ययन गर्न लागेको हो । जनसङ्ख्याका आधारमा भारतमा भन्दा कम जनसङ्ख्या रहेको देश नेपालमा कसरी बीमा कम्पनी धेरै भन्ने प्रश्न पटकपटक उठ्ने गरेको भन्दै यसै प्रश्नको उत्तर मेटाउन चालू आर्थिक वर्षदेखि समितिले नेपालमा कति बीमा कम्पनी आवश्यक छ भन्ने विषयमा अध्ययन गर्न लागेको उनले बताए ।
समितिका अनुसार अहिले नेपालमा १९ वटा जीवनतर्फ र २० वटा निर्जीवनतर्फ गरी कुल ३९ वटा बीमा कम्पनी सञ्चालनमा रहेकामा हालसम्म दुईवटा कम्पनी मर्जर भई एकीकृत कारोबारसमेत सुरु गरिसकेका छन् । १७ वटा कम्पनीले मर्जरका लागि सैद्धान्तिक सहमति लिइसकेका छन् ।
गत चैतमा बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको नीति ल्याएको समितिले बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गरी जीवन बीमा कम्पनीको पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको पुँजी साढे दुई अर्ब पुर्याउनुपर्ने मापदण्ड तोकेपछि कम्पनीमा मर्जरको माहोल सुरु भएको थियो ।गोरखापत्र दैनिकबाट
फेसबुकबाट तपाईको प्रतिक्रिया