नेपालमा विदेशी भन्दा स्वदेशी पर्यटक दोब्बर खर्चालु

काठमाडौं २० चैत्र
नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकको तुलनामा आन्तरिक पर्यटकले गर्ने खर्च करिब दोब्बर हुने गरेको पाइएको छ। विश्व यात्रा तथा पर्यटन परिषद (वर्ल्ड ट्राभल एन्ड टुर काउन्सिल) ले हालै सार्वजनिक गरेको पर्यटनको आर्थिक प्रभावसम्बन्धी प्रतिवेदन अनुसार विदेशी पर्यटकको तुलनामा नेपालका आन्तरिक पर्यटक बढी खर्चालु देखिएका हुन्। प्रतिवेदनका अनुसार सन् २०१६ मा नेपालले विदेशी पर्यटकबाट ४८ अर्ब ६० करोड रुपैयाँ आम्दानी गरेको थियो। आन्तरिक पर्यटकले सोही वर्ष भने ९२ अर्ब ६० करोड रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ। कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रको योगदानमध्ये आन्तरिक पर्यटकको खर्च ६५.६ प्रतिशत रहेको छ भने विदेशी पर्यटकको योगदान ३४.४ प्रतिशत मात्र रहेको छ। प्रतिवेदनका अनुसार सन् २०१७ मा विदेशी पर्यटकले नेपालमा गर्ने खर्च नौ प्रतिशतले बढेर ५३ अर्ब रुपैयाँ पुग्ने अनुमान छ। त्यस्तै आन्तरिक पर्यटकको खर्च ६.१ प्रतिशतले बढेर ९८ अर्ब २० करोड रुपैयाँ पुग्ने प्रक्षेपण छ। सन् २०२७ सम्ममा आन्तरिक पर्यटकको खर्च एक खर्ब ३३ अर्ब र विदेशी पर्यटकको खर्च एक खर्ब दुई अर्ब पु्ग्ने प्रक्षेपण छ। गोरखापत्रमा समाचार छ

फेसबुकबाट तपाईको प्रतिक्रिया