नेपालमै पहिलोपटक ललितपुरमा बिउ एटिएम स्थापना

काठमाडौं  ८ साउन

ललितपुर महानगरपालिकाले नेपालमै पहिलोपटक बिउ एटिएम स्थापना गरेको छ।

सार्वजनिक निजी साझेदारी मोडेलअन्तर्गत सक्कल एग्रो एन्ड सिड ट्रेडर्ससगँको सहकार्यमा बिउ एटिएम स्थापना गरिएको हो।

पुल्चोकस्थित एटिएमको औपचारिक सुरुवात भने केही दिनमा हुने महानगरले जनाएको छ। यो खबर आजको नयाँ पत्रिकामा विजय कार्कीले लेखेका हुन्।

भारतीय कम्पनी बेटा अटोसँग साढे तीन लाख भारुमा महानगरले एटिएम मेसिन खरिद गरेको हो । यातायात र भन्सार गरी नौ लाख (नेरु)मा एटिएम तयार भएको कृषि महाशाखा प्रमुख केशव अधिकारीले बताए।

अहिले परीक्षण गरिएको एटिएम सफल भएमा महानगरका २९ वटै वडामा बिउ एटिएमको स्थापना हुने उनले जानकारी दिए।

अर्गानिक खेतीको प्रर्वद्धन गर्ने उद्देश्यले बिउ एटिएमको सुरुवात गरिएको महानगरले जनाएको छ । एटिएममा ३६ जातका तरकारी तथा पुष्प रहेका छन् । एटिएममा मौसमी तरकारी र बिउ उपलब्ध छन् ।

एटिएम मेसिनमा सिजनअनुसारका सिमी, तितेकरेला, काँक्रो, रायो, काउली, मुला बन्दा, बोडी, गोलभेडालगायतका तरकारीका बिउ पाउन सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया