नेपालले विश्व व्यापार संगठनको सदस्यता त्यागे हुन्छ !
सुरेन्द्र ढकाल
विश्व ब्यपार संगठनको सदस्यता लिनुको राष्ट्रिय श्वार्थ भनेको विश्व वजारमा आफनो देशको गुणस्तरीय वस्तु प्रतिष्पर्धात्मक मूल्यमा विक्री गरी निर्यात वढाइ देशको आर्थिक विकाश गर्नु हो । शीत युध्दको अन्त्य संगै विकाश सहयोग (Development Cooperation)को अन्तर्राष्ट्रिय राजनीति अन्त्य भइ विकशित राष्ट्रहरुले अव सहयोग होइन ब्यपार (Trade Not Aid) भन्न थालेकाले विश्व ब्यपार संगठनको जन्म भएको थियो । नेपाल जस्तो राष्ट्र जस्को विदेशी वजारमा विक्रि गर्ने वस्तुनै छैन भने के निर्यात गर्ने ? सरकारी गलत निर्यात नीतिको कारण एकताका वेस्सरी निर्यात वढेको गलैचा उद्योग, त्यसपछिको पश्मिना उद्योग, हस्तकलाका सामग्रीहरुको निर्यात ८५ प्रतिशतको हाराहारीमा घटीसकेको अवस्था छ ।
अहिलेको नेपालको आयात निर्यातको अनुपात झण्डै १ः१४ रहेको छ, भनाइको मतलव नेपालले एकसय डलरको निर्यात गर्दा चौधसय डलरको आयात गरिराखेको अवस्था छ । अंकमा भन्नु पर्दा नेपालले ३३ अरव रुपैयाको निर्यात गर्दा ४३३ अरव रुपैयाको आयात गरिराखेको छ । यसप्रकार नेपाल आयात निर्यात अनुपातको प्रतिशत हेर्दा संसारकै सबैभन्दा ठूलो ब्यापारघाटा भएको मुलुक वन्न पुगेको छ । यो ४३३ अरव रुपैयाको आयात गर्ने विदेशी मुद्रा नेपालमा कहाबाट आयो भन्दा विदेशमा नेपाली कामदारहरुले कठीन, खतरनाक र फोहरी काम गरी देशमा पठाएको विदेशी मुद्रा, विदेशी पर्यटकहरुले नेपालमा आएर सटही गरेको विदेशी मुद्रा, विदेशी सहयोग र लगानी बाट प्राप्त विदेशी मुद्रा र थोरै निर्यातबाट कमाइ गरेको विदेशी मुद्रा पर्दछ । यसरी प्राप्त विदेशी मुद्राबाट नेपालले पेट्रोल, ग्यास, डिजेल मट्टीतेल, मोटर र मोटरका स्पेयरपार्टस, विलाशिताका वस्तुहरु, औषधी मात्र नभै पछिल्ला वर्षहरुमा खाद्यवस्तु याने अन्न फलफुल र तरकारी समेत आयात गरी त्यसबाट उठेको भन्सार राजश्वले देश चलाइ रहेको छ ।
नेपालले विश्व ब्यपार संगठनमा सदस्यता लिएपछि अति कम विकसित राष्ट्रभएको कारण नेपाली वस्तु आयात गर्ने युरोप, अमेरिका तथा एसिया अनि अष्ट्रलिया महादेशका राष्ट्रहरुले नेपाललाई जिएसपि सुविधा प्रदान गरेका छन् । भनाइको मतलव शुन्य भन्सार दरमा नेपालले ति देशहरुमा आफ्नो वस्तु निर्यात गर्न सक्तछ । तर खोइ त यस्तो सुविधाबाट नेपालले निर्यात वढाइ आयात घटाएको देखिदैन ? झन झन वर्षेनि निर्यात र आयातको विचको खाडल चौडा हुदैछ । केही वर्ष अघिसम्म धान चामल निर्यात गर्ने नेपाल अहिले त्यो पनि आयात गरिराखेको छ । यही विश्व ब्यपार संगठनमा सदस्य भएको कारण नेपाली वस्तु नेपाली वजारमा विदेशी वस्तुसंग मूल्य र गुणस्तरमा प्रतिष्पर्धा गर्न नसकेको कारण नेपालका उद्योगहरु धमाधम वन्द हुन पुगेका हुन् । विश्व ब्यपार संगठनको सदस्य नभएको अवस्थामा नेपालको ब्यापारघाटा त्यति कहाली लाग्दो थिएन किनकी स्वदेशमा उत्पादित वस्तुलाइ राज्यले संरक्षण गरेको कारण तिनीहरु विदेशी वस्तु भन्दा सस्ता थिए र नेपाली उद्योग पनि चलेको थियो । संरक्षणवाद याने (Protection Regime) को अन्त्यसंगै नेपाली उद्योगहरु धराशायी हुन पुगे र सरकारको लागि वोझ सावित हुनपुग्दा निजिकरणको नाममा सरकारले ती उद्योगहरुलाई कौडिको मूल्यमा विक्रि गरिदियो । एकातर्फ निर्यातप्रवद्र्धन गर्ने चीनको जस्तो प्रभावशाली नीति सरकारसंग नहुनु अनि अर्को तर्फ मूल्य र गुणस्तरमा प्रतिष्पर्धा गर्न नसकी स्वदेशी उद्योगहरु वन्द हुनाको कारण पहिले गोर्खा सैनिक निर्यात गरेको नेपालले पछिल्ला वर्षमा आएर विदेशमा नेपालीलाई रोजगारीमा पठाउन थाल्यो । अहिले ४० लाख भन्दा वढी नेपालीहरु विदेशमा काम गरी नेपालमा पैशा पठाइरहेको र देश खास अर्थ त्यही पैशाबाट चलीरहेको अवस्था छ ।
वस्तुको निर्यातले आयातलाई सन्तुलन गर्न नसकेको अवस्थामा नेपाललाई विश्व ब्यपार संगठनको सदस्यताको कुनै आवश्यकता छैन । चीनले जस्तो सस्तोमा गुणस्तरीय वस्तु निर्यात गर्दाको अवस्थामा त अमेरिकाले विश्व ब्यपार संगठनको नीति नियम विपरित चीनको वस्तुमाथि एकतर्फि रुपबाट भन्सार लगाई विश्व ब्यपार संगठनको धज्जी उडाएको अवस्थामा निर्यात नै गर्न नसक्ने नेपाललाई किन चाहियो विश्व ब्यपार संगठनको सदस्यता ?
यो सदस्यता त्यागेमा नेपालले नेपाल आयात भइ आउने विदेशी वस्तुमा आफूले चाहेको प्रतिशत भन्सार लगाइ स्वदेशी उत्पादनलाई संरक्षण गर्न सक्तछ भने जुन देशले नेपाली वस्तु आयात गर्न चहान्छ त्यसो गर्न द्धिपक्षिय ब्यपार संझौता काफि हुन्छ भने किन चाहियो नेपाललाई विश्व ब्यपार संगठनको सदस्यता जस्को कारण नेपालले कहिले नभएको ब्यपारघाटा ब्यहोर्नु परिरहेको छ । यही कारणले गर्दा भुटानले अहिलेसम्म विश्व ब्यपार संगठनको सदस्यता लिएको छैन । अर्को तर्फ नेपालको आयात निर्यात ठूलो अंश भारत र चीनसंग मात्रै भएको हुदा त्यस्को लागि पनि विश्व ब्यपार संगठनको सदस्यता जरुरी छैन । तसर्थ नेपालले विश्व ब्यपार संगठनको सदस्यता त्याग्दा हुन्छ ।
(लेखक ढकाल नेकपा मालेका पोलिटब्युरो सदस्य हुन् )
प्रकासित मिति २०७५–३–१६
फेसबुकबाट तपाईको प्रतिक्रिया