नेपाली जनतालाई महेन्द्र राष्ट्रवाद थोपरी भेडा बनाउदैं एमाले–माके
सुरेन्द्र ढकाल
नेपाली कांग्रेसहरु अहिले पनि नेपालका बामपन्थीहरुलाई राजा महेन्द्रको उत्पादन भन्न रुचाउँछन् । हुन पनि केशरजंग रायमाझी, डीपी अधिकारी अनि कमलराज रेग्मीहरु पंचायतमा प्रवेश नगरेका होइनन् । तर त्यसो भनिरहँदा कांग्रेसका महामन्त्री तुलसी गिरी, अनि पछि गएर परशुनारायण चौधरी, अर्जनु नरसिंहहरु किन पंच भए त भन्ने जवाफ कांग्रेसभित्र पनि छैन र २०४६ को आन्दोलन छाडेर झण्डै गिरिजा पनि पंचायत प्रवेश लागिसकेकै थिए भनेर कांग्रेसी आफैँ भन्छन् । तर त्यसो होइन राजा महेन्द्र दुई मुकुण्डोधारी राष्ट्रवादी थिए ।
पहिलो मुकुण्डो राष्ट्रवादको
जब राजा महेन्द्रले २०१७ सालमा कू गरी २०१९ सालमा आफैंले संविधान बनाइ पंचायत व्यवस्था लागू गरे त्यतिखेर उनले आफूलाई राष्ट्रवादी ठहराउँदै भारतविरुद्ध चाइना कार्ड खेलेर पहिलो जित हासिल गरेका थिए । सन् १९६२ मा भारत चीन युद्धको फाइदा उठाइ उनले चिनिया उपप्रधानमन्त्री चेन यीलाई तिब्बत बोलाई भारतीय हस्तक्षेप विरुद्ध त्यहाँबाट बोल्न लगाए । चेन यीले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरे वा युद्ध गरे त्यो चीनमाथिको हस्तक्षेप ठानिने छ भनेर बोलेपछि नेहरु ल¥याक लुरुक भए । कतै नेपाल हुँदै चिनिया फौज भारत पस्यो भने तीन दिनमै दिल्ली कब्जा गर्ला भन्ने डरले नेहरुले तुरुन्तै पंचायत ब्यवस्था मानी भारतलाई आधारभूमि बनाइ पंचायत विरोधी राजनीति गरिरेहको नेपाली कांग्रेसको गतिविधिमा रोक लगाइदिए । झन् त्यसमाथि कोदारी राजमार्ग खोली चीनसँग सिधा स्थल यातायात सम्पर्क बनाएपछि त के चाहियो महेन्द्रको राष्ट्रवाद निकै कामयावी देखियो । नेहरु र लालबहादुर शास्त्रीको शासन रहुञ्जेल महेन्द्र युग निकै मौलायो । उनले नेपालको उत्तरी चेकपोष्टमा रहेको भारतीय सुरक्षा चौकी पनि हटाउन लगाए । उनको राष्ट्रवादी अनुहार र ब्यवहार मुकुण्डोधारी होला भनेर राष्ट्रभित्र र बाहिर कसैले पनि सोचेका थिएनन् ।
दोस्रो मुकुण्डो लम्पसारवादको
भारतमा नेहरुकी छोरी इन्दिरा गान्धी जब प्रधानमन्त्री बनिन् उनले चीनसँगको युद्धको कारण खस्किएको भारतको अनुहारलाई चहकिलो बनाउन तत्कालिन सोभियत संघसँग सैनिक सम्झौता गरिन् तब राजा महेन्द्र डराए । कतै त्यही सन्धीको आधारमा नेपालसँग पनि भारतले १९६२ को कुटनीतिक हारको बदला लेला र आफ्नो निरंकुश शासनको अन्त्य गर्ला भन्ने चिसो उनको मनमा पस्यो । झन् जनकपुरमा उनी चढेको गाडीमा कांग्रेसहरुले बम हानेपछि यिनले कुलशेखर शर्मालाई सुटुक्क भारत पठाएर सन् १९६५ मा भारतसँग सैनिक सम्झौता गरे । यसअनुरुप स्वतन्त्र नेपालले सैनिक हातहतियार, सैनिकको लागि लुगाफाटा किन्दा समेत भारतबाटै किन्नुपर्ने, तेस्रो देशबाट किन्न परे भारतको स्वीकृति लिई भारत भएर भारतलाई देखाएर मात्र ल्याउन पाउने ब्यवस्था गरेपछि महेन्द्रको राष्ट्रवादी मुकुण्डो उदांग भयो । नेपालको सेनामाथि आफ्नो प्रभुत्व स्थापित भएपछि भारतले निरन्तर राजाको निरंकूशता र पंचायत ब्यवस्थालाई आँखा चिम्लेर समर्थन दिँदा पंचायत राम्रै टिक्यो । राजा महेन्द्रको लम्पसारवाद कसैले थाहा पाएन त्यतिबेला ।
राजा वीरेन्द्रको राष्ट्रवाद
सोभियत संघसँगको सैनिक सम्झौताको आडमा भारतले सन् १९७० को दशकको शुरुमै पाकिस्तानलाई विखण्डन गरी बंगलादेश बनाउन र सिक्किमलाई भारतमा विलय गर्न सफल भयो । त्यही नै बेला नेपाली कांगेस्रले नेपाली विमान अपहरण गरी भारत लगी विमानमा भएको ३० लाख भारु लुटन सफल भयो । विमान अपहरणकर्तालाई समाइ कारबाही गर्न भारत तत्पर भएन भने भारतीय सैनिक दिनदहाडै नेपाल पसी नेपाली गाउँ हरिहरपुर लुटे । त्यही समयमा नै महेन्द्रको मृत्यु भई वीरेन्द्र राजा बनेका थिए । भारतसँगको गोप्य सैनिक सम्झौता थाहा नपाएका राजा वीरेन्द्रले बंगलादेशको उत्पत्ति र सिक्किमको भारतमा विलय भएको र चीनले केही पनि गर्न नसकेको देखि नेपालको समेत स्वतन्त्रता खतरामा परेको महसुस गर्दै आफ्नो राज्याभिषेकको अवसर पारी नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने विश्वसमक्ष प्रस्ताव राखे जसको फलस्वरुप भारत उनीसँग नराम्ररी चिढियो । नेपाल दरबारको भारतसँगको सम्बन्ध चिसिएकै कारण भारतले नेपाली राजनीतिक दललाई राजाको शासन विरुद्धमा उचाल्यो तर राजाले जनताको पक्ष लिई २०३६ सालमा जनमत संग्रह, २०४६ सालमा चीनसँग हतियार खरिद गरेपछि भारतले महेन्द्रसँग भएको गोप्य सैनिक सम्झौता खुलासा गर्दै पंचायत ढाल्ने रणनीति अख्तियार ग¥यो र नेपालमाथि आर्थिक नाकाबन्दी लगायो । वीरेन्द्र र उनका प्रधानमन्त्री मरिचमानले डटेरै नाकाबन्दीको सामना गरे तापनि स्थिति सहज नभएपछि भारतसँग घुँडा टेक्नुभन्दा जनताको पक्षमा निर्णय गर्नु उचित ठानी राजा वीरेन्द्रले पंचायत ढाली बहुदलको घोषणा गरे । यसको साथै भारतसँगको गोप्य सन्धिको खुलासा भई राजा महेन्द्रको लम्पसारवादको पनि भण्डाफोर भयो ।
आफ्नो सक्रिय समर्थन र सहयोगमा नेपालमा बहुदलीय ब्यवस्थाको स्थापना भएपछि भारतले नेपालमा रहेका १ करोड आप्रवाशी भारतीयहरुलाई नेपाली नागरिकता दिन तत्कालिन सरकारलाइ दबाब दिन थाल्यो । भारतका अगाडि नतमस्तक भएका तत्कालीन कांग्रेस र एमालेका सरकारहरुले सदनमा बारम्बार नागरिकता विधेयक पेस गरे तर राजा वीरेन्द्रले सो विधेयकलाई रायको लागि भन्दै सर्वोच्च अदालत पठाइ दिँदा भारतको नेपाललाई वैधानिक रुपबाटै सिक्किम बनाउने स्वार्थ पूर्ति हुने छाँट देखिएन । अर्कोतिर भारतका तत्कालिन प्रधानमन्त्री राजिवको तामिलबाट हत्या भएपछि त्यसमा रानी ऐश्र्वयको हात रहेको भारतीय छापाहरुले लेख्न थाले । दिल्ली र नेपाल दरबारबीच खुला बैमनस्य बढ्यो । नेपालको राजतन्त्रलाई खतम नगरी नेपाललाई सिक्किम बनाउन नपाउने देखेपछि भारतले एकातर्फ माओवादीलाई उचाली जनयुद्ध शुरु गर्न लगायो भने अर्कोतर्फ वीरेन्द्रको वंश विनाश गर्ने नयाँ डिजाइन तयार गरी त्यसको कार्यान्वयन गर्न थाल्यो जुन कालान्तरमा सफल पनि भयो । वीरेन्द्रको वंश विनाशपछि ज्ञानेन्द्र राजा बने । भारतले जसोजसो भन्यो त्यसै त्यसै गर्छ होला भन्ने सोच विपरीत ज्ञानेन्द्रले पनि दाजुकै बाटो अनुशरण गरी नागरिकता विधेयकलाई लत्याइ दिएपछि नेपालका झण्डै सबै राजनीतिक दलहरुलाई दिल्ली बोलाइ दोस्रो दिल्ली सम्झौता गराउन भारत सफल हुँदा नेपालबाट राजतन्त्र बढारियो र १ करोडमध्ये ६३ लाख भारतीयहरुले नेपाली नागरिकता पाए ।
ओलीको राष्ट्रवाद
६३ लाख भारतीयहरुलाई नेपाली नागरिकता दिलाएपछि अब मधेसलाई एक प्रदेश अनि जनसंख्याको आधारमा चुनाव क्षेत्र बनाउनपर्ने नयाँ रणनीति भारतले अख्तियार ग¥यो र नेपालको संसदको प्रचण्ड बहुमतले अनुमोदन गरेको संविधानलाई भारतले मान्न अस्विकार गरी संविधान संसोधनको दबाबस्वरुप पुनः नेपालमाथि आर्थिक नाकावन्दी थोप¥यो । हिजो निरंकुश राजतन्त्र फाल्न भारतले नाकाबन्दी गर्दा नेपाली जनता र विश्व त्यसको पक्षमा थियो भने नेपालको विखण्डनको कुत्सित उद्देश्य राखी गरिएको नाकाबन्दीलाई न नेपाली जनता न विश्वले कसैले पनि स्वीकार नगरेपछि भारत आफैं नांगियो र नाकाबन्दी फिर्ता लिन बाध्य भयो । यद्यपि उसले केपी सरकारलाई ढालेरै छाड्यो । नयाँ बनेको माओवादी कांग्रेस संयुक्त सरकारले भारतले इच्छा गरे बमोजिमको संविधान संसोधन प्रस्ताव संसदमा पेश ग¥यो तर दुई तिहाई बहुमत नपुग्दा अनुमोदन हुन सकेन । एकातर्फ नाकावन्दीको डटेर सामना गरेको र अर्कोतर्फ संविधान संसोधन असफल गराएको कारण राष्ट्रवादी ठहरिएको एमाले र केपीलाई नेपाली जनताले चुनावमा बहुमत दिने देखेर भारतीय गुप्तचर संस्थाकोे इसारामा माओवादीहरु एकाएक एमालेसँग मिलेर चुनाव लड्ने र परेमा दल नै एकिकरण गर्ने भनी जनताको अगाडि जाँदा नेपाली जनताले माके एमालेलाई राष्ट्रवादी ठानेर बहुमत दिएको अहिलेको अवस्था हो । एकपटक सत्ताबाट हात धुनु परेपछि केपीले पनि भारतको सहयोगविना नेपालको शासनमा टिक्न गाहारो हुन्छ भनेर राजा महेन्द्रले जस्तै भारतसँग गोप्य सम्बन्ध कायम गर्ने रणनीति अख्तियार गरेको यिनको र मोदीको हालको ब्यवहारले देखाएको छ । चीनमा भएको महत्वपूर्ण बोआओ फोरममा भाग नलिई कम महत्वको विना एजेण्डाको भारत भ्रमण गर्न,ु भ्रमणलाई भारतले चाहिनेभन्दा बढी महत्व दिनु, आठ क्लासे ओलीलाई डक्टरेट भिडाउनु, कोसी उच्च बाँधको कुरा नगरी मोदीले समुद्रलाई हिमालसँग जोडी नेपाललाई भूपरिवेष्ठितबाट मुक्त गर्ने करुा गर्न अनि त्यही नयाँ ललिपपमा रमाउनुले ओलीको राष्ट्रवाद पनि राजा महेन्द्रको राष्ट्रवाद जस्तै राष्ट्रघाती प्रमाणित भएको छ । राजा महेन्द्रले त सन् १९६५ को सन्धी गरी पंचायत जोगाउन नेपालको स्थानलाई भुटानको बराबरी बनाएका रहेछन् त्यही कुरालाई प्रचण्डले प्रधानमन्त्री भई भारत जाँदा अन्तर्राष्ट्रिय मामलामा नेपाल र भारतको समान दृष्टिकोण रहने भन्दै संयुक्त विज्ञप्ति जारी गरी अनुमोदन गरेकै हुन् भने अनि त्यस्तो माकेसँग एकता गर्ने एमाले कसरी सच्चा राष्ट्रवादी हुन सक्छ ? झन् त्यसमाथि मोदीको नेपाल भ्रमणलाई एमाले–माके सरकारले जुन महत्व दिइरहेको छ यस्ले के यो नेपाली जनतालाई महेन्द्र राष्ट्रवाद थोपरी भेडा बनाउन खोजेको त होइन भन्ने प्रश्न राष्ट्रवादी नेपाली जनमानसमा उठिसकेको छ । यस परिप्रेक्ष्यमा ओली–प्रचण्डको राष्ट्रवाद महेन्द्र पथ अनुशरण गर्दै अगाडि बढेको अवस्थामा सच्चा नेपाली राष्ट्रवाद ओझेल बन्दै गएर नेपाल क्रमशः भुटान अनि सिक्किमको नियतिमा नपुग्ला भन्न सकिन्न ।
(लेखक नेकपा मालेका पोलिटब्युरो सदस्य हुन् )
प्रकासित मिति : २०७५–१–२९
फेसबुकबाट तपाईको प्रतिक्रिया