नेपाली हवाई आकाशलाई ईयूले कालोसूचीबाट हटाएन

काठमाडौं,२६ मंसिर  ।

विगत चार वर्षदेखि नेपाली हवाई आकाशलाई कालो सूचीमा राख्दै आएको युरोपेली आयोगले नेपाललाई थप छलफलका लागि बोलाएको छ । गत साता आयोगले अन्तर्राष्ट्रिय सुरक्षा मापदन्ड पूरा नगरेका युरोपबाहिरका एयरलाइन्स कम्पनीहरूको सूची सार्वजनिक गरेको छ ।

२०७० मंसिर २० देखि लगाइएको प्रतिबन्धलाई पुनः निरन्तरता दिइएको छ । सूचीमा निरन्तरता दिएको इयूले नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्वलाई जनवरी १५ मा छलफलको लागि बोलाएको छ । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को गम्भीर सुरक्षा चासो (एसएससी) सूचीबाट नेपाल चार महिनाअघि बाहिरिए पनि कालोसूचीबाट बाहिरिने टुंगो छैन । आइकाओको सूचीलाई हेरेर इयूले कालोसूचीमा नेपाललाई ४ वर्ष अगाडि नै राखे पनि हाल त्यसैलाई निरन्तरता दिँदै छलफलको लागि बोलाएको प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।  इयूले डिसेम्बर र जुनमा सूची सार्वजनिक गर्दै आएको छ ।

गत असार १९ मा आइकाओले औंल्याएका कमजोरी सुधार भए–नभएको सम्बन्धमो उडान सुरक्षा अडिट गर्न आइकाओका दुईजना विज्ञ काठमाडौं आइपुगेका थिए । उक्त टोलीले नेपालमा भइरहेको वायुयान सञ्चालन र वायुयान मर्मतसम्भार क्षेत्रको अवस्थाबारे अध्ययन तथा संपरीक्षण गरेका थिए ।

आइकाओले कोअर्डिनेटेड भ्यालिडेसन मिसन (आईसीभीएम) भनिएको यो टोलीको अध्ययनपछि गएको साउनमा नेपालमाथिको ‘रातो झन्डा’ अर्थात गम्भीर सुरक्षा चासो (एसएससी) सूचीबाट हटाएको थियो । त्यसलगत्तै प्राधिकरणले इयूलाई पत्र लेख्दै कालोसूचीबाट हटाउन आग्रह गरेको थियो ।

निगमलाई समस्या पर्ने संकेत
नेपाल वायुसेवा निगमले ठूला जहाज खरिदको अन्तिम तयारी गरिरहेको छ । निगमले वाईडबडी ३३०–२०० सिरिजको जहाज मार्फत युरोपका मुलुकहरूमा उडान गर्ने लक्ष्य लिएको छ । इयूले कालो सूचीबाट नहटाएसम्म निगमले युरोपका कुनै पनि मुलुकमा उडान भर्न पाउने छैनन् । ईयूको प्रतिबन्धित सूचीबाट नेपालले मुक्ति पाएपछि मात्रै नेपाली एयरलाइन्सका विमान र हेलिकप्टरलाई उनीहरूका मुलुकमा चार्टर उडानका लागि बाटो खुला हुनेछ ।

नेपालको हवाई क्षेत्रका बारेमा आइकाओले पहिलो पटक सन् १९९९ मा प्रारम्भिक अडिट गरेको थियो । २००१ नेपालमा पहिलो पटक आइकाओले औपचारिक रूपमा अडिट गरेको थियो । त्यस समयमा पनि हवाई सुरक्षाको कुरा उठाएको थियो । पुनः आइकाओले सन् २००४ र २००८ मा पनि आइकाओले अडिट गरेको थियो । इयूले एओसी दिदाँको स्टाटस, दुर्घटनाको जाँचबुझ प्रतिवेदन सहित ८ वटा नेपालमा सेप्टेम्बर २०१२ र सेप्टेम्बर २०१३ को विचमा तिनवटा दुर्घटना हुनु लगायत धेरै विषय उठाउँदै नेपाली हवाई आकाशलाई कालोसूचीमा राख्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया