नेपाल आइडल उत्कर्षतिर तर प्रमिला रार्इ ‘आउट’

काठमाडौं २८ श्रावण  ।

नेपाली टेलिभिजनको इतिहासमै सर्वाधिक रुचाइएको गायन रियालिटी सो नेपाल आइडल उत्कर्षतिर पुगेको छ । कलेज, स्कुल, कार्यालय, सार्वजनिक यातायात, चिया पसलदेखि हरेक जमघटमा एपी वान टेलिभिजनबाट प्रसारित नेपाल आइडलको चर्चा हुन थालेको छ ।

प्रतियोगितामा उत्कृष्ट सातबाट प्रमिला राई बाहिरिएकी छन् । नेपाल आइडलमा उत्कृष्ट सातसम्मको यात्रा तय गरेकी प्रमिला पप रक गीत गाउन रुचाउँछिन् । अंग्रेजी गीत पनि उनको रुचिमा पर्छ ।

आजको अन्नपूर्ण दैनिकमा खबर छ–नेपाल आइडलका लागि प्रमिलाले राजधानीबाट अडिसन दिएकी थिइन् । काठमाडौंको बालाजु निवासी २२ वर्षीया प्रमिला स्नातक अध्ययनरत छिन् ।

नेपाल आइडलमा आएर आफूले प्राप्त गरेको पहिचान र लोकप्रियताले भविष्यमा सांगीतिक यात्रा अगाडि बढाउन सजिलो हुने उनको भनाइ छ । परिवारको प्रेरणा र खासगरी बुवाको साथका कारण संगीत क्षेत्रमा लागेकी प्रमिलाले यसअघि औपचारिक रूपमा कसैसँग पनि संगीत सिकेकी छैनन् ।

आफ्नो मेहनत र संगीतप्रेमी श्रोतादर्शकको माया र साथका कारण उत्कृष्ट सातसम्मको यात्रा तय गरेको उनको भनाइ छ । नेपाल आइडल उपाधिका लागि प्रतियोगीहरू जति नजिक आउँदैछन् उनीहरूको चर्चा र लोकप्रियता उत्तिकै बढ्दै छ । यो गायन रियालिटी सो हजारौं युवाको सपना बनेको छ ।

पहिलो नेपाल आइडलको उपाधि विजेता चयन नहुँदै दोस्रो सिजनको तयारीमा लाग्नेहरू हजारौं छन् । नेपाल आइडलका लागि नेपालगन्जका ३० वर्षीय सुरज थापा, ललितपुरका २२ वर्षीय प्रदाप दास, बुटवलकी २१ वर्षीया सुजाता पाण्डेय, मोरङका २१ वर्षीय निशान भट्टराई, चितवनका २० वर्षीय सागर आलेमगर र पोखराका २० वर्षीय बुुद्ध लामा उत्कृष्ट ६ मा पर्न सफल भएका छन् ।

सुरज आधुनिक, सेमी क्लासिक र सेन्टिमेन्टल गीत मन पराउँछन्। उनलाई पुराना पुस्तामा नारायणगोपाल, भक्तराज आचार्य एवं नयाँ पुस्तामा स्वरूपराज आचार्यको स्वर मन पर्छ। आफ्नो स्वरको स्तर, मेहनत र आत्मविश्वासका कारण नेपाल आइडलको यात्रा निरन्तर सफलतातिर लम्किरहेको उनको भनाइ छ ।

त्यसैगरी नारायणगोपाल र कर्णदासको स्वर मन पराउने प्रताप आफ्नो एकमात्र लक्ष्य नेपाल आइडल बन्ने रहेको बताउँछन् । पारिवारिक वातावरण नै सांगीतिक भएकाले आफूलाई यस क्षेत्रमा लाग्न सजिलो भएको उनको भनाइ छ ।

उत्कृष्ट ६ मा परेकी एकमात्र महिला प्रतियोगी सुजाता पाण्डेय अरुणा लामा, तारादेवी र नयाँ पुस्तामा मेलिना राईको स्वर मन पराउँछिन् । बुटवलबाट अडिसन दिएकी उनी मेहनत र दर्शकको मायाका कारण यो स्थानसम्म आएको बताउँछिन् ।

बुटवलमा हुँदा बागेश्वरी संगीतालयमा शास्त्रीय संगीत सिकेकी उनको पनि लक्ष्य जित नै हो । प्रतियोगिताका प्रबल दाबेदारमध्ये एक हुन् निशान भट्टराई ।

गजल र आधुुनिक शैलीका गीत मन पराउने उनी सबै खाले गीत गाउन सक्छन् । सानैदेखि गीतसंगीतप्रति अगाध रुचि एवं परिवारको साथ र सहयोगले गायन क्षेत्रमा लाग्न आफूलाई सहज भएको उनको भनाइ छ ।

अहिलेसम्म औपचारिक रूपमा संगीत नसिकेका सागर नयाँ शैलीको आफ्नो स्वर, मेहनत र सबैको साथले नेपाल आइडलमा उत्कृष्ट ६ सम्मको यात्रा तय गर्न सकेको बताउँछन्। परिवारमा सांगीतिक वातावरण भएकाले यस क्षेत्रमा आफूलाई सजिलो भएको उनको भनाइ छ ।

अहिलेसम्म बटम लाइनमा नपरेका पोखराका बुद्ध लामा नेपाल आइडलका अर्का प्रबल दाबेदारका रूपमा देखा परेका छन् । परिवार खासगरी दिदी र दाइका कारण गायनमा लागेका उनी पुुराना र आधुुनिक शैलीका गीत बढी मन पराउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया